६३ हजारले पाए इन्फिनिटी लघुवित्तको आईपीओ, दुई लाख बढीको हात खाली

  २०७६ जेठ २२ गते १२:२४     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार ६२ हजार ९९३ जनाले १० कित्ता सेयर पाएका छन् ।

संस्थाले जारी गरेको उक्त आईपीओमा ३ लाख २९ हजार ७०६ आवेदकले ६९ लाख ४७ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ३ लाख २९ हजार ०७९ जनाले भरेका ६९ लाख २९ हजार ९१० कित्ता सेयर सदर भएका छन् भने बाँकी ६२७ जनाले भरेका १७ हजार २४० कित्ता सेयर विभिन्न कारणले रद्ध भएको क्यापिटलले जनाएको छ ।

सदर भएको सेयर मध्ये ६२ हजार ९९३ जनालाई १०/१० कित्ताका दरले ६ लाख २९ हजार ९३० कित्ता बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएका छन् । बाँकी २ लाख ६६ हजार ०८६ जनाले संस्थाको एक कित्ता सेयर पनि पाएका छैनन् । संस्थाको सेयरमा माग भन्दा बढी आवेदन परेकाले लाखौँ लगानीकर्ताको हात खाली भएको हो ।

क्यापिटलका अनुसार संस्थाको सेयरमा माग भन्दा ११.०३ गुणा आवेदन परेको थियो । संस्थाले गत जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म कूल ६ लाख ७४ हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो । जसमध्ये म्युचअल फण्डलाई ३३ हजार ७०० र कर्मचारीलाई १० हजार ३७० कित्ता सेयर छुट्याई बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयर सर्वसाधारणहरुमा बिक्री गरेको थियो ।

त्यस्तै, उक्त आईपीओमा संस्थाको कर्मचारी तर्फबाट कूल १६६ जनाको आवेदन परेको थियो, जसलाई जम्मा १० हजार ३७० कित्ता सेयर बाँडफाँड गरिएको छ ।