एनसेलले ल्याएको ‘सधैँ अन’ प्लानमा के छ ?

  २०८१ जेठ २ गते १५:२०     विकासन्युज

काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैं अन’ योजना ल्याएको छ ।

‘सधैँ अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नराखी डेटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलले बताएको छ ।

‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरू अनलाइनबाटै गर्ने भएकाले उनीहरूलाई ‘सधैँ अन’ अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने ।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरू सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको छ ।

हाल सेवा प्रदायकका प्लानहरू इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरूको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स काटिरहेकाे हुन्छ । यही समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको बताएकाे छ ।

‘सधैँ अन’ मार्फत ग्राहकका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको र ग्राहकका सुझावलाई विषेश ध्यानमा राखेर डेटा प्याकलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकलाई २० वटामा झारेको एनसेलकाे भनाइ छ ।

एनसेलका अनुसार यो योजनाको अझ ठूलो उद्देश्य भनेको ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको छ । कायुमोभले भने, ‘फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ, ६० भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आइसकेको छ,  हामी चाहन्छौं भारतपछि नेपाल व्यावसायिक रूपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्, तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईंको डेटा ‘सधै अन’ हुनुपर्छ ।’

मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ । नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ १० मध्ये २ जना मात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन् । साथै, औसत प्रतिग्राहक प्रतिमहिना डाटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो।

‘सधैँ अन’ मा के छ ?

एनसेलको ‘सधैँ अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समयसिमा हरेक दिन रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्नेसम्मको विभिन्न प्लानहरू रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ रहेको छ । यी प्लानहरू ग्राहकलाई विद्यमान शुल्कभन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ । यसका साथै ‘सधैँ अन’ सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन् ।

उदाहरणका लागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीवी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ।  त्यस्तैगरी रु ४९९ काे बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीवी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

आफ्‌नो आवश्यकताअनु‌सार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरू पनि ल्याएको छ । उदाहरणका लागि यस प्लानअन्तर्गत रु १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याकअन्तर्गतको सेवाहरू २८ दिनका लागि मान्य रहनेछ ।

ग्राहकले एष्ट्रिक्स१२३‌ह्यास डायल गरी सजिलै आफ्‌नो आवश्यकताअनुसार कुनै पनि ‘सधैँ अन’ प्लान लिन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.