सेयर बजारमा मन्दीः ११ करोडको मात्रै कारोबार, सबै सूचक राताम्मे

  २०७६ कार्तिक ३ गते १५:२९     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारमा मन्दी छाएको छ । अर्बौ बढीको कारोबार हुने बजारमा दशैपछि ३० करोड बढीको कारोबार हुन पनि हम्मेहम्मे परेको छ ।

आइतबार जम्मा ११ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अहिलेसम्मकै न्युन हो । बजारमा कूल १२८ कम्पनीको ४ लाख २१ हजार ४७४ कित्ता सेयर किनबेच भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा ७ करोड रुपैयाँ घटी हो ।

नेप्सेले सूचिकृत अधिकांश कम्पनीको सेयर कारोबार रोकिदिए पछि आइतबारको बजारमा कम सेयर कारोबार भएको हो । त्यस्तै, दशैपछि खुलेको बजारमा लगानीकर्ताहरु अझै सक्रिय नहुँदा कारोबार बढ्न नसकेको हो ।

कारोबारको साथसाथै नेप्से सूचक पनि बढ्न सकेको छैन । आइतबारको नेप्से ४.०५ अंकले ओरालो लागेर ११३३ अंकमा झरेको छ ।

त्यस्तै, कारोबारमा आएका १२ वटै समूह राताम्मे देखिएका छन् । आइतबार प्रभु बैंकको सबैभन्दा बढी अर्थात एक करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।