म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’

  २०७९ माघ ४ गते १२:१३     सन्तोष रोकाया

काठमाडौं । मान्छे खुसीमा होस् वा रोदनमा । थकान मेटाउन होस् वा उत्सव मनाउन, प्रयोग प्रायः मदिराको गर्छ । कतिपय मानिस मदिरा पिएर मातिन्छन् त कतिपय बहकिन्छन् । एकअर्काबीच कुरा साटासाट गर्न होस् वा सामाजिक बन्न पनि अधिकांशले मदिरा नै पिउँछन् । पछिल्लो समय त झन् पिउने बानी नभएका तर सामाजिक बन्नकै लागि भए पनि पिउनेहरुलाई ‘सोसियल ड्रिङ्कर’को उपमा दिइएको छ । अहिले मदिराबिनाका भोजभतेर हुँदैनन् । जब कार्यक्रममा ककटेल हुन्छ, त्यो कार्यक्रमको रौनक नै पृथक । कुनै समय थियो, जसले विदेशी ब्राण्डका रक्सी पिउँछ, त्यो समाजमा हुनेखाने अर्थात् ‘हाई स्ट्याण्डर्ड’को मान्छे । तर, अहिले त्यसको परिभाषा बदलिदिएका छन् रवि केसीले । नेपाल मदिरा उत्पादक सङ्घका पूर्व अध्यक्ष तथा यति डिस्टिलरीका अध्यक्ष रहेका केसी छोटै समयमा नेपाली मदिरा उद्योगलाई एक गर्व गर्न लायक क्षेत्रका रुपमा स्थापित गर्न सफल भएका छन् । विदेशी मदिराको दबदबा रहेको नेपाली बजारमा अहिले उनै केसीको कारण विदेशी ब्राण्डका मदिराहरुको बजार सङ्कुचित बन्दै गएको छ, नेपाली उत्पादनले विस्थापित गर्दै लगेको छ ।

सन् २०१५ मा आफ्नो फ्ल्यागसिप ब्लेन्डहरु वल्र्ड दरबार ह्विस्की र ८८४८ भोड्काका साथ बजारमा प्रवेश गरेको यति डिस्टिलरी अहिले नेपाल मदिरा उद्योगमा एक अग्रणी र सफल कम्पनीका रुपमा स्थापित भएको छ । यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताको रोजाइमा परेका छन् भने उपभोक्ताहरुले विदेशी मदिराको सट्टा यति डिस्टिलरीका ब्राण्डहरुको स्वाद मन पराउन थालेका छन् । उत्कृष्ट र गुणस्तरीय उत्पादनकै कारण कतिपय मानिसहरुको दैनिकी बनेका छन् यति डिस्टिलरीका उत्पादन ।

योे छोटो समयमा यति डिस्टिलरी कसरी बन्यो अग्रणी मदिरा कम्पनी ? अध्यक्ष केसी भन्छन्, ‘हामीले नाफाभन्दा गुणस्तरीयतामा ध्यान दियौं, उपभोक्ताको रोजाइलाई फोकस गर्यौं, कसैले हाकिम भएपछि आफूभन्दा तलको कर्मचारीको कुरा सुनेर निर्णय लिन्छ तर म आफै फिल्डमा गएर त्यसको वास्तविकता बुझेर निर्णय गर्छु, धेरै मिहिनेतपछि यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताकाबीच एक ब्राण्डका रुपमा स्थापित भएका हुन्, अझै धेरै काम गर्न बाँकी छ ।’ कम्पनीमा ५० प्रतिशत सेयर केसीको र ५० प्रतिशत अभिषेक श्रेष्ठको छ । कम्पनीले आधा दर्जन बढी ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । ८८४८ भोड्का, ह्वीस्की, जिन रलो इन्ड ७० अप, वल्ड दरबार, ब्ल्याक चिम्नी, बाह्रसिंगेको सुपर स्ट्रोङ्ग, बाह्रसिंगे प्रिमियम स्ट्रोङ्ग, फाल्कन लगायतका मदिरा तथा वियरहरु यस कम्पनीका चर्चित उत्पादनहरु हुन् ।

यति डिस्टिलरीको सन् २०२१ मा २१ प्रतिशतले आम्दानी बढेको अध्यक्ष केसी बताउँछन् । कम्पनीले सन् २०२१ मा १३ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको दैनिक ९ हजार केस मदिरा उत्पादन गर्ने क्षमता छ भने हाल १२० वटा वितरकबाट मदिरा बिक्री भइरहेको छ । ‘प्रत्येक तह/तप्काका मान्छेले उच्च स्तरीय मदिरा/वियर पिउन् भन्ने मेरो कन्सर्न हो, अब उच्च स्तरीय रक्सी पिउन विदेशबाट ल्याउनु पर्दैन, रक्सीमा विदेशी मु्द्रा खर्च गर्नु पर्दैन, अन्तर्राष्ट्रिय ब्राण्डसँग हामीले प्रतिस्पर्धा गरिरहेका छौं । सबैले मन पराइरहनु भएको छ, मदिरामा नेपाल आत्मनिर्भर हुन सक्छ भनेर म देखाउन चाहन्छु,’ अध्यक्ष केसीले भने ।

वस्तु उत्पादन गर्दा नाफा हेर्नेभन्दा पनि आफुले सुरुमा काम हेर्ने केसी बताउँछन् । केसी विदेशी लगानी रहेको सूर्य नेपालका उपाध्यक्ष पनि हुन् । सूर्य नेपालको उपाध्यक्षको जिम्मेवारी पूरा गर्दा गर्दै उनले आफ्नो कम्पनीलाई एक उत्कृष्ट मदिरा उत्पादक कम्पनीका रुपमा स्थापित गराए । उनलाई अहिले पनि सूर्य नेपालले उपाध्यक्षको जिम्मेवारी दिइनै रहेको छ । बहुराष्ट्रिय कम्पनीको जागिर गर्दै पारदर्शी रुपमा आफ्नै कम्पनी स्थापित गरेर, अहिले पनि दुबै जिम्मेवारी सम्हालेर उनले व्यवस्थापनमा नयाँ नमूना नै छोडेका छन् । ‘विदेशी कम्पनीमा आवद्ध भएर र आफ्नै व्यापार गरेर पनि एक उत्कृष्ट कम्पनी बनाउने सायद कमै छन्, म हिजो सूर्य नेपालमा जत्ति खटिन्थेँ, आज पनि त्यति नै खटिन्छु, सूर्य नेपालमा सेयर नभए पनि हिजो पनि मालिकको रुपले काम गरेँ, आज पनि सोही ढंगले काम गरिरहेको छु, यो मेरो स्ट्रेन्थ हो,’ केसी भन्छन्, ‘म नाफाभन्दा पहिला गुणस्तर र उपभोक्ताको रोजाइ हेर्ने भएको कारणले पनि हाम्रो उत्पादन सबैले मन पराउनुहुन्छ ।’

रवि आज आफु जुन अवस्थामा छन् त्यसको श्रेय सूर्य नेपाललाई दिन्छन् । ३३ वर्षदेखि सूर्य नेपालमा आवद्ध भएका उनको व्यावसायिक यात्रा पनि सूर्य नेपालबाटै सुरु भएको हो । ५३ वर्षीय केसी भन्छन्, ‘व्यक्ति वा संस्थाले समय अनुसार चल्नु पर्छ, व्यक्तिको ‘च्वाइस’ पहिचान गर्न सक्नु पर्छ, तब मात्रै लक्ष्य भेटाउन सकिन्छ ।’ केसी आफु पनि कहिलेकाहीँ मदिरा पिउने गरेको बताउँछन् । तर, जुन दिनदेखि उनले यति डिस्टिलरीको मदिरा उत्पादन गर्न थाले सो दिनदेखि अन्य कम्पनीको मदिरा नपिएको सुनाउँछन् । ‘म जे जति कार्यक्रममा जान्छु जताततै मेरै कम्पनीको मदिरा देख्छु, कहिलेकाहीँ कुनै कार्यक्रममा नराखेको भए गाडीबाट निकालेर आफ्नै कम्पनीको ह्वीस्की पिउँछु, म मेरै कम्पनीको मदिरामा स्वाद देख्छु,’ उनी भन्छन्, ‘हामीले लामो अध्ययन अनुसन्धान गरेर उत्पादन गर्ने भएकोले पनि बजारले मन पराएको छ ।’

उत्पादनलाई गुणस्तरीय र उपभोक्ताको रोजाइको बनाउन सके त्यसले स्वस्फूर्त रुपमा बजार लिने केसीको धारणा छ । ‘कतिपय मानिसको उद्देश्य जसरी भए पनि पैसा कमाउने हुन्छ, अधिकांशले काम गरेपछि कति पैसा आउँछ भनेर सोच्छन् । तर, मेरो सोच भनेको काम गरेपछि पैसा आइहाल्छ नि भन्ने हो, काम राम्रोसँग गर्ने, त्यसलाई कसरी गुणस्तरीय बनाउने भन्ने मेरो ध्यान हुन्छ, पैसा कमाउने भन्दा पनि मैले उत्पादनलाई कसरी गुणस्तरीय बनाउनेतर्फ मेरो जोड हुन्छ, वस्तुमा कतिको मार्जिन राख्ने भन्दा पनि यसलाई कसरी मिठो बनाउने भन्नतर्फ मैले सोच्छु, मिठो भएपछि बजारमा राम्रो बिकिहाल्छ, तनावै लिनु पर्दैन,’ उनी भन्छन्, त्यसपछि आफू अघि–अघि जाने पैसा पछि–पछि स्वतः आइहाल्छ ।’

५३ वर्ष पुगे पनि केसीमा जोश जाँगर अझै बढ्दै गएको छ । समाज र देशका लागि केही गरौं भन्ने हुटहुटी उनमा छ । नेपाललाई मदिरामा आत्मनिर्भर बनाउने र मदिराकै लागि विदेशिने डलर रोक्नु पर्ने उनको ध्येय छ । ‘म कहिल्यै थाक्दिनँ, मैले व्यक्तिगत नाफा कहिल्यै सोचिनँ, मैले मेरो व्यवसाय र कामलाई नै महत्व दिन्छु, जसले देशलाई लाभ होस्, उनी भन्छन्, ‘म आर्यघाट नपुग्दासम्म यतिकै हुन्छु, यो व्यवसायबाट कहिल्यै रिटायर्ड पनि हुँदैन ।’ उनी सबैभन्दा ठूलो स्वास्थ्य भनेको सोच र सन्तुष्टि भएको धारणा राख्छन् । ‘रक्सी खाएर तनाव लियो भने तनाव हुन्छ, रक्सी खाएर खुसी भयो भने त्यसले खुसी दिन्छ, संसारमा सबैभन्दा ठूलो निरोग भनेकै सन्तुष्टि हो, औषधि पनि त बढी खायो भने पोइजन बनिदिन सक्छ,’ उनी थप्छन्, ‘सीमित खानुस्, सब राम्रो हुन्छ ।’

दुई वर्षभित्रै उत्कृष्ट करदाता

रवि केसीलाई यस वर्ष आन्तरिक राजश्व विभागले व्यक्तिगततर्फ उत्कृष्ट करदाताको रुपमा आफ्नो नाम सार्वजनिक गर्ने अपेक्षा थियो । तर, त्यो अपेक्षा अपेक्षामै सीमित बन्यो । उनी अलिकति चुके । विभागले उनलाई होइन विजयकुमार शाहलाई उच्च करदाताको रुपमा सम्मानित ग¥यो । केसी आफु पनि नेपालमा सबैभन्दा बढी तलब खाने व्यक्तिको सूचीमा रहेको दाबी गर्छन् । तर, उनले कति तलब खान्छन्, त्यो भने खुलाएनन् । ‘यस पटक व्यक्तिगत तर्फको करमा उत्कृष्ट करदाताका रुपमा आउँछु की भन्ने आशा थियो तर आइनँ, म पनि नेपालमा उच्च तलब खानेहरुमध्ये पर्छु,’ उनी भन्छन्, अब हेरौं अर्को वर्ष के हुन्छ ।’

अहिले पनि मदिरा उद्योगमा यति डिस्टिलरी भने नम्बर वान करदाता भएको उनी दावी गर्छन् । ‘छोटै समयमा यो किसिमको बजार पाएका छौं, अब छिट्टै उत्कृष्ट करदाताका रुपमा सबैले हेर्न सक्नुहुन्छ, डेढ/दुई वर्षभित्रै उत्कृष्ट करदाताका रुपमा यति डिस्टिलरीको नाम आउँछ, विदेशबाट आउने महँगा रक्सीहरुलाई नेपालमा ठप्प पार्न चाहन्छु, रक्सीमा जुन किसिमको पैसा विदेश जान्थ्यो त्यो रोक्न पाएकोमा गर्व लाग्छ’, उनी गर्वका साथ भन्छन्, ‘विदेशी रक्सी नेपाल आउन रोक्ने कम्पनी यति डिस्टिलरी हो ।’

यति डिस्टिलरीमा भएको युवा जनशक्तिकै कारण कम्पनीले छोटै समयमा एक किसिमको सफलता प्राप्त गरेको उनी बताउँछन् । आज पनि वल्र्ड दरबारको सेल्सम्यान छु, भोलि पनि हुनेछु, यो पद भन्ने विषय गौण हो, अध्यक्ष/उपाध्यक्ष भनेको औपचारिकता मात्रै हो । मेरो काम भनेको वस्तु बिक्री गर्ने नै हो,’ उनी भन्छन्, ‘सूर्य नेपालमा मेरो सेयर छैन तर म त्यहाँको मालिक हो, कर्मचारीले पनि मालिक भएको महसुस गरेर काम ग¥यो भने कम्पनीले लिएको लक्ष्य भेटाउन सजिलो हुन्छ ।’

यति डिस्टिलरीका उत्पादन नेपालमा मात्रै परिचित छैनन् । यसका उत्पादनले विश्व बजार पनि हल्लाइरहेका छन् । गत वैशाखमा यतिका दुई उत्पादनले मदिराको विश्व प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जित्यो । यतिका उत्पादन ८८४८ भोड्का र वल्ड दरबार ब्ल्याक चिम्नी ह्वीस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेको थियो । यो प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो । यसले पनि यतिका उत्पादनहरु कति गुणस्तरीय छन् भन्ने विषय प्रष्ट्याउँछ ।

सरकारको नीति सकस

अर्बौंको लगानी रहेको मदिरा उद्योगलाई सरकारले सौतेनी व्यवहार गरेको केसीको गुनासो छ । मदिरा उद्योगलाई हेर्ने समाज र सरकारको दृष्टिकोणमा खोट भएको उनको धारणा छ । सरकारले राजस्व खोज्ने तर यसलाई व्यवस्थित बनाउन ध्यान नदिने प्रवृत्तिले उद्योगको विस्तार हुन नसकेको उनको भनाइ छ । वर्षेनी बढाउने राजश्वले मदिरा व्यवसायी निरुत्साहित हुँदै गएको उनले बताए । ‘बजेटमार्फत् रक्सी चुरोटमा जति पनि राजस्व बढाए हुन्छ भन्ने सरकारको मानसिकता गलत छ, यसले वास्तविक उद्योगी समस्यामा पर्छन्, अवैध र गुणस्तरहीन मदिराले प्रशय पाउँछ, त्यसले झन् मानिसको स्वास्थ्यमा हानी पु¥याउँछ, उनले भने ।

सस्तो लोकप्रियताका लागि रक्सीको विरोध ग¥यो भने समाजमा हिरो भइन्छ भन्ने केही मानिसहरुको कारणले यसलाई नकारात्मक वस्तुका रुपमा लिइएको उनको तर्क छ । मदिरा उद्योगलाई हेर्ने समाजको दृष्टिकोण फरक रहेको उनको धारणा छ । पहिले उद्योगी व्यवसायीहरुका कुरा सुनेर बजेट ल्याउने चलन भए पनि अहिले भने त्यो अभ्यास हराउँदै गएको उनको गुनासो छ ।

‘पछिल्ला ४/५ वर्षमा एनजीओ र आईएनजीओले भनेका कुरा बढी सुनिन थालेका छन्, वास्तविकताभन्दा पनि सेन्टिमेन्टलमा गएर निर्णय गर्ने परिपाटी बढ्दो छ, बढी कर पनि त्यसकै उपज हो, यस्ता निर्णय खराब वस्तुहरुले बजारमा बढी हिस्सा लिन्छन्, उत्पादन, उपभोक्ता र राजश्व लिने सरकारबीच समन्वय हुन सक्नु पर्छ, तब मात्रै नेपालमा सबै वस्तुहरुको औद्योगिक वातावरण सिर्जना हुन्छ, सबैले रोजगारी पाउँछन्, समग्रमा देशको भविश्य उज्जवल हुन्छ,’ उनले भने ।

(देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

सम्बन्धित सामग्री :

मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति

‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’

नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म

जसले नेपालमा केबलकार क्रान्ति ल्याए

गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ

सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’

अर्बपति सन्यासी, पोल्ट्रीका फादर

चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा

हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.