एक अर्ब बढी लागतमा रारामा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

  २०८१ वैशाख १७ गते १५:४०     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ । रारा ताल क्षेत्रमा बन्ने उक्त रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।

आइतबारबाट सुरु भएको तेस्रो लगानी सम्मेलनमा संस्कृति पर्यटन तथा उड्डयन मन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे ।

पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी गर्ने गरी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड रुपैयाँबराबर लगानी गरिने शाहले जानकारी दिए ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।

उनका अनुसार यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट भएको र परियोजना निर्माण सुरु गर्न सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले छिट्टै निर्माण प्रक्रियालाई तीव्रता दिने र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको पनि जानकारी दिए ।

समुद्र सतहदेखि ३ हजार ७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिने बताइएको छ ।

८० रोपनी जमिनमा बन्ने उक्त होटलको लागत १ अर्ब १० करोड रुपैयाँ हुनेछ । उक्त रिसोर्टमा १०० सिटको हल र हेलिप्याडको पनि सुविधा हुनेछ ।

एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.