
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफले संसारभरि हलचल मच्चाएको छ । उनले चीन, मेक्सिको र क्यानडामा ट्यारिफ लागू गरिसकेका छन् भने अर्को महिना धेरै देशहरूमा ट्यारिफ लगाउने घोषणा गरेका छन् ।
उनका संरक्षणवादी नीतिहरूले संसारमा व्यापार युद्ध निम्त्याउन सक्छ र महँगी बढ्न सक्ने विश्लेषकहरू बताउँछन् । यही परिस्थितिलाई ध्यानमा राख्दै वैश्विक आर्थिक संगठन अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडी)ले
विश्वव्यापी आर्थिक वृद्धिको अनुमान घटाएको छ ।
ओईसीडीको भनाइ छ कि व्यापारिक तनाव र भू-राजनीतिक अन्योलताले आर्थिक सम्भावनामा असर परेको छ । ओईसीडीले सन् २०२५ मा विश्वव्यापी वृद्धिको अनुमान घटाएको छ ।
विश्व अर्थतन्त्रमा असर
ओईसीडीका प्रमुख अर्थशास्त्री अल्भारो सान्टोस परेरा भन्छन्, ‘हामी कठिन समयबाट गुज्रिरहेका छौं । महँगी बढ्नेछ ।’
ओईसीडीको रिपोर्टअनुसार अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमन ठूलो चिन्ताको विषय हो । उनका संरक्षणवादी नीतिहरूले व्यापार युद्ध निम्त्याउन सक्छ र महँगीमा वृद्धि गर्न सक्छ ।
२०२४ मा विश्वको जीडीपी वृद्धिदर ३.२ प्रतिशत रहेको थियो तर २०२५ मा यो ३.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन पहिला ३.३ प्रतिशत हुने अनुमान गरिएको थियो । यसको मुख्य कारण जी-२० देशहरूमा व्यापारिक बाधाहरूको वृद्धि हो । भू–राजनीतिक र नीतिगत अन्योलताका कारण निवेश र घरेलु खर्चमा असर परेको छ ।
अमेरिका र युरोपमा सुस्त वृद्धि
ओईसीडीको अनुमानमा २०२५ मा अमेरिकाको जीडीपी वृद्धिदर २.२ प्रतिशत रहने अपेक्षा गरिएको छ, जुन डिसेम्बरको अनुमान २.४ प्रतिशतभन्दा कम हो । साथै २०२६ मा अमेरिकाको वृद्धि दर १.६ प्रतिशतमा झर्ने सम्भावना छ, जुन अघिल्लो अनुमानभन्दा ०.५ प्रतिशत कम हो ।
त्यस्तै, युरोपेली क्षेत्रको वृद्धि दर तीन महिना पहिले १.३ प्रतिशत अनुमान गरिएकोमा अब घटेर १.० प्रतिशत मात्र रहनेछ । २०२६ मा यो १.२ प्रतिशत पुग्ने अनुमान छ ।
यता चीनमा २०२५ मा ४.८ प्रतिशत र अर्को वर्ष ४.४ प्रतिशतको स्थिर वृद्धि कायम रहने अपेक्षा गरिएको छ । (एजेन्सीहरूको सहयोगमा)