
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीले दिने सुविधामा असन्तुष्टि जनाउँदै उजुरी दिने बीमितको संख्या वार्षिक रूपमा बढ्दै गएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ६ आर्थिक वर्ष अर्थात आव २०७५/७६ देखि आव २०८०/८१ सम्ममा १ हजार ८०४ कुल उजुरी दर्ता भएको छ । प्राधिकरणले समयमै उजुरीको सम्बोधन नगर्दा वार्षिक उजुरीको संख्यासमेत बढ्दै गएको हो ।
६ आर्थिक वर्षमा प्राधिकरणमा बीमितले दिने उजुरीको संख्या १३३ प्रतिशतले बढेको तथ्यांकमा देखिन्छ । तथ्यांकअनुसार आव २०७५/७६ मा १८७ उजुरी दर्ता भएकोमा आव २०८०/८१ मा उजुरी दर्ताको संख्या बढेर ४३७ वटा पुगेको छ । दर्ता भएका कुल उजुरीमध्ये ७२० वटा मुद्दाको फैसला भएको छ भने १ हजार ८४ मुद्दाको अझै फैसला हुन बाँकी छ ।
कुन वर्ष कति उजुरी परे ?
आव २०८०/८१ प्राधिकरणमा जम्मा उजुरी संख्या ४३७ वटा रहेको थियो, जसमध्ये उक्त आवमा मात्रै २४४ वटा नयाँ उजुरी दर्ता भएको देखिन्छ । २४४ वटा उजुरीमध्ये पनि १५९ वटा निवेदन केन्द्रीय कार्यालय र ८५ वटा प्रादेशिक कार्यालयमा दर्ता भएका उजुरी हुन् ।
पहिलेको वर्षको बाँकी निवेदन १९२ वटा थियो । यसरी कुल उजुरीमध्ये १५० वटा मुद्दाको फैसला भइसकेको छ । १५० वटा मुद्दामध्ये १०१ वटा फैसलाबाट र ४९ वटा मध्यस्थताबाट सहमति भएकोे हो । २८७ मुद्दा भने हेर्न बाँकी रहेको र त्यो मुद्दा चालु आव २०८१/८२ मा सरेको प्राधिकरणले जनाएको छ ।
आव २०७५/७६ मा बीमा प्राधिकरणमा १८७ वटा निवेदन दर्ता भएको देखिन्छ । जसमध्ये ८३ वटा मुद्दा पुरानो निवेदन, ४ वटा पुनरावेदनबाट आएको र बाँकी एक सय निवेदन सोही वर्षमा दर्ता भएको थियो ।
प्राधिकरणमा बीमितले दर्ता गरेका कुल उजुरीमध्ये ८५ वटाको मात्रै फैसला भएको छ । १०१ उजुरीको भने उक्त वर्षमा फैसला हुन सकेनन् ।
आव २०७६/७७ मा १८७ वटा कुल निवेदनमध्ये १२६ नयाँ निवेदन दर्ता भएको देखिन्छ भने १०१ वटा निवेदन पुरानो निवदेन हो । उक्त आवमा कुल उजुरीमध्ये ९१ वटा उजुरीको फैसला भएको थियो । १३५ वटा उजुरीको सो वर्ष फैसला हुन सकेन ।
त्यस्तै, आव २०७७/७८ मा दर्ता भएको कुल २७३ उजुरीमध्ये ९३ उजुरीको फैसला भएको छ । आव २०७८/७९ मा दर्ता भएको ३३८ उजुरीमध्ये १५२ र आव २०७९/८० मा ३४१ उजुरीमध्ये १४९ वटा उजुरीको फैसला भएको प्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणमा दर्ता भएको दर्ता उजुरीसम्बन्धी विवरण

निर्जीवन बीमाविरुद्ध उजुरी धेरै
फैसला हुन नसकेर हरेक वर्ष थाँती रहँदै आएका धेरैजसो उजुरीहरू निर्जीवन बीमा कम्पनीसँग सम्बन्धित रहेका छन् । बीमा दाबी भुक्तानीमा बीमकले समयमै भुक्तानी नगर्ने, कम भुक्तानी दिने गरेपछि बीमितले कम्पनीविरुद्ध उजुरी दिने गरेको पाइएको छ । प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी समयमै दाबी भुक्तानी भएन भन्दै बढीजसो उजुरी आउने गरेको बताउँछन् ।
‘समयमै दाबी भुक्तानी भएन भन्दै उजुरी आउने गरेको छ । साथै भुक्तानी भएतापनि दाबीभन्दा कम भुक्तानी दियो भनेर पनि गुनासो आउने गरेको छ,’ उनले भने ।
यसबाहेक सर्भेयरले झुठो विवरण दिएको, अभिकर्ताले सुरुमा बीमा गरेपछि डबल रकम फिर्ता हुन्छ भनेर गरेपछि पाउने बेला पाइएनन भनेर पनि उजुरी आउने गरेको उनले बताए ।
प्राधिकरणका सूचना अधिकारी अधिकारीले प्राधिकरणमा आउने उजुरीहरूलाई सकेसम्म छिट्टै नै सम्बोधन हुने गरी काम गर्दै आएको बताए ।
उनले भने, ‘प्राधिकरणमा उजुरीको संख्या बढ्दै गएसँगै हामीले पनि उजुरीउपर कारबाही प्रक्रियालाई तीव्रता दिँदै आएका छौं । पुरानो उजुरी फैसलामा केही ढिलाइ भएपनि यसमा छिटो हुने गरी काम गर्ने हाम्रो प्रयास जारी छ ।’
प्राधिकरणमै इजलास सञ्चालन हुँदै
प्राधिकरणमा उजुरीको चाप बढ्दै गएसँगै त्यसलाई थप व्यवस्थित बनाउने भन्दै प्राधिकरणले आगामी वैशाख १ गतेदेखि इजलास सुरु गर्ने भएको छ । प्राधिकरणमा यो सेवा सुरु भएसँगै बीमितले छिटो र प्रभावकारी रूपमा सेवा पाउने विश्वास प्राधिकरणले लिएको छ ।
इजलाश सञ्चालनको लागि आवश्यक तयारीसमेत प्राधिकरणले गर्दैछ । प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि इजलाश सञ्चालन गरिने प्राधिकरणका सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
यसअघि बैठक कक्षमा सञ्चालक समितिको बैठकलाई इजलाशकै रूपमा सञ्चालन गर्दै मुद्दाको छिनोफानो हुँदै आएको थियो ।
प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमार्फत प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणका अनुसार यो निर्णय भएसँगै अब बीमितले अनलाइनबाटै आफ्नो मुद्दाको पालो कहिले आउनेछ भनेर सहजै पत्ता लगाउन सक्नेछन् ।