
काठमाडौं । अमेरिकीहरूले सन् २०२४ मा ‘इन्भेस्टमेन्ट स्क्याम’ (लगानी ठगी) मा ५.७ डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
संघीय व्यापार आयोग (एफटीसी) को नयाँ तथ्यांकअनुसार अमेरिकी उपभोक्ताहरूले २०२४ मा लगानी ठगीमा ५.७ अर्ब डलर गुमाएका हुन् । जुन कुनै पनि अन्य प्रकारको ठगीभन्दा धेरै हो र २०२३ भन्दा २४ प्रतिशतले वृद्धि भएको छ ।
एफटीसीका अनुसार यस्ता ठगीहरू प्रायः उपभोक्ताहरूलाई नयाँ पैसा कमाउने योजनामा लगानी गर्दा ठूलो फाइदा हुन्छ भन्ने दाबीमा आधारित हुन्छन् ।
एफटीसीले जनाएको छ कि ७९ प्रतिशत मानिसहरूले लगानी ठगीको रिपोर्ट गरेका थिए, जसमा औसत पीडितले ९ हजार डलरभन्दा बढी गुमाएका थिए ।
तर एफटीसीको तथ्यांक उपभोक्ताहरूले गरेको रिपोर्टमा मात्र आधारित भएकाले रिपोर्ट नगरिएका घटनाहरूलाई ध्यानमा राख्दा वास्तविक ठगीको दायरा अझ धेरै हुन सक्छ ।
एफटीसीका उपभोक्ता नीति, दूरसञ्चार र ठगीसम्बन्धी उपाध्यक्ष जोहन ब्रेयाल्ट ले भने, ‘यी ठगीहरू उपभोक्ताहरूका लागि वास्तवमै ठूलो समस्या बन्दै गइरहेका छन् ।’
एआई र क्रिप्टोकरेन्सीको लगानी ठगीमा योगदान
विशेषज्ञहरूका अनुसार ठगहरू प्रायः सामाजिक सञ्जाल वा डेटिङ एपमार्फत सम्पर्क गर्छन् । उनीहरू पहिले विश्वास जित्छन् र त्यसपछि क्रिप्टोकरेन्सी जस्ता भर्चुअल सम्पत्तिमा लगानी गरी उच्च प्रतिफलको आश्वासन दिन्छन् ।
लगानीहरू वैधजस्तो देखिए पनि अन्ततः ठगहरू उपभोक्ताको पैसा लिएर गायब हुन्छन् ।
कृत्रिम बौद्धिकता (एआई) को प्रयोगले ठगी गर्न अझ सजिलो बनाएको छ । डीपफेकहरू- जहाँ मानिसहरूलाई नक्कली भिडियो, तस्बिर वा ध्वनिमा वास्तविक जस्तो देखाइन्छ । यसको प्रयोगले ठगहरूलाई अझ विश्वसनीय बनाइरहेको छ ।
विदेश नीति परिषदका अनुसार, कम्बोडिया, लाओस र म्यानमार जस्ता दक्षिणपूर्वी एसियाली देशहरूमा संगठित अपराध सञ्जालले ठगी सञ्चालन केन्द्रहरू स्थापना गरेका छन् । ती केन्द्रहरूमा हजारौं मानिसहरूलाई अवैध रूपमा तस्करी गरेर ठगी गराउन बाध्य पारिएको छ ।
टेक्सास विश्वविद्यालय, अस्टिनका अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘क्रिप्टोकरेन्सीले ठगहरूलाई ठूलो रकम सजिलै, सस्तोमा र पत्ता लाग्ने डर बिना सार्न मद्दत गर्छ ।’ (एजेन्सीहरूको सहयोगमा)