काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज चैत ३ गते अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई बिक्री गरिसकेको छ ।
कम्पनीले दोस्रो चरणमा १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।