२०८१ फागुन २९ गते १८:१० विकासन्युज
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने अधिकांश कार्यक्रममा उनी विरुद्दका नारा लाग्ने गरेका छन् । प्रधानमन्त्री ओली सहभागी हुने अधिकांश कार्यक्रममा सर्वसाधारण तथा युवाहरुले केपी ओली मुर्दावादको नारा लगाउँदै उनको विरोध गर्ने गरेका छन् ।
ओली सार्वजनिक कार्यक्रममा सहभागी हुने वित्तीकै युवाहरुले उनी विरुद्दका नारा घन्काउने गरेका छन् । यसअघि काठमाडौंको दशरथ रंगशालामा भएको केपी ओली कप मात्रै होइन ओली विदेशमा गएको बेला समेत अमेरिकामा उनीविरुद्द नारा लागेको थियो ।
त्यस्तै नारा बिहीबार बसन्तपुरमा पनि लाग्यो । होली मनाउन बसन्तपुर पुगेका युवाहरुको समूहले ओली सहभागी नभए पनि केपी ओली मुर्दावाद भन्दै उनको विरोध गरे ।
होली मनाइरहेका युवाहरुले केपी ओली मुर्दावाद, बालेन शाह जिन्दावाद भन्दै नारा लगाएपछि बसन्तपुरको माहोल तातेको थियो । युवाहरु नारा लगाउँदै उफ्रिएपछि बसन्तपुरमा खटिएका सुरक्षाकर्मी सक्रियमात्रै बनेनन्, अन्य ठाउँमा खटिएका सुरक्षाकर्मी पनि बसन्तपुरमै आइपुगे । सुरक्षा व्यवस्थामा कडाइ भएपछि युवाहरुले प्रधानमन्त्री ओली विरुद्दका नारा लगाउन रोकिएका थिए ।
यसरी ओली पुगेका विभिन्न सार्वजनिक कार्यक्रम र उनी सहभागी नै नभएको ठाउँमा समेत उनको आलोचना गर्दै उनीविरुद्द नारा लाग्न थालेपछि धेरैले ओलीको लोकप्रियता घट्दै गएको र सरकारको कामप्रति सर्वसाधारण असन्तुष्ट बनेको बुझ्न सकिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.