सडकमा संरचना बनाउनेलाई ५ लाख जरिवाना, देशभरका सडकलाई ७ भागमा बाँडिदै

  २०८१ फागुन २९ गते १३:२५     विकासन्युज

काठमाडौं । देशभरका विभिन्न सडकलाई सरकारले ७ भागमा वर्गीकरण गर्ने भएको छ ।

हालै सरकारले सार्वजनिक सडक सञ्जाल व्यवस्थित गर्न तयार पारेको सार्वजनिक सडक ऐन, २०८१ मार्फत देशभर हरेका विभिन्न सडक सञ्जाललाई ७ भागमा वर्गीकरण गर्ने तयारी गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रानलयका अनुसार ५० वर्ष पुरानो सार्वजनिक सडक ऐन, २०३१ ले सडक सञ्जाललाई राजमार्ग, सहायक मार्ग, जिल्ला मार्ग र सहरी मार्ग गरी ४ भागमा वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको अहिलेको ऐनको विधेयकमार्फत सडक सञ्जाललाई मुख्य गरी तीन भागमा संघीय सडक सञ्जाल, प्रादेशिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल वर्गीकरण गर्ने व्यवस्था गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी शुभा श्रेष्ठले जानकारी दिइन् ।

उनले हाल यो विधेयकको विषयमा ७ वटै प्रदेशका सरकारसँग छलफल भइरहेको जानकारी दिइन् । छलफलपछि प्रदेश सरकारका सुझाव सल्लाह संकलन गरी मन्त्रिपरिषद्मा प्रस्ताव गरिने उनको भनाइ छ ।

उनका अनुसार प्रस्तावित विधेयकमार्फत संघीय सडक सञ्जालको जिम्मेवारी संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रादेशिक सडक सञ्जाल प्रदेशको जिम्मेवारी र स्थानीय सडक सञ्जाल स्थानीय तहको जिम्मेवारी अन्तरगत रहने व्यवस्था गरिएको छ ।

यसैगरी, देशभरका सडकलाई प्रमुख तीन भागमा वर्गीकरणपश्चात त्यसलाई पनि फेरि ७ भागमा वर्गीकरण गर्ने व्यवस्था गरिरएको जनाइएको छ ।