काठमाडौं महानगरले माग्यो नगरभित्र सञ्चालित सहकारी संस्थासँग विवरण

  २०८१ फागुन २८ गते ११:१६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालित सहकारी संस्थाहरूलाई विवरण बुझाउन अनुरोध गरेको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै सहकारी संस्थालाई विवरण बुझाउन आग्रह गरेको हो ।

सहकारी संस्थाहरूले काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (३) र १०४ बमोजिम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र संस्थाले साधारण सभा सम्पन्न गरी सभा सम्पन्न भएको मितिले पन्ध्र दिनभित्र महानगरपालिकामा वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

तर हालसम्म केही सहकारी संस्थाहरूले वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०८०/८१ सम्मको लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदन पेश गरेको नदेखिएको भन्दै ती सहकारी संस्थाहरूले अविलम्ब वार्षिक साधारण सभा सम्पन्न गरी साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदनहरू विभागमा पेश गर्न सूचना जारी गरेको छ ।

महानगरको सहकारी ऐन, २०७४ को दफा ६६ (३) बमोजिम विगत २ आर्थिक वर्षदेखि वार्षिक साधारण सभा गरी वार्षिक विभागमा विवरण पेश नगर्ने सहकारी संस्थाहरूलाई निष्क्रिय तथा सहकारीको मूल्य, मान्यता र सिद्धान्त विपरीत कार्य गरेको मानी निष्क्रिय सहकारी संस्थाको विवरण सार्वजनिक गर्नुका साथै विभागले संस्था खारेजीको प्रक्रिया समेतको कानूनी कारबाही गर्ने जनाएको छ ।

सहकारी संस्थाहरूको नियमन गर्ने अधिकार संविधानतः स्थानीय तहलाई तोकिए बमोजिम काठमाडौँ महानगरपालिकाले कानूनी र संरचनागत व्यवस्था मिलाई आफ्नो कार्य क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको दर्ता, प्रवर्द्धन, अनुगमन लगायतका कार्यहरू गर्दै आएको छ ।

यसै सन्दर्भमा महानगरपालिकाको नियामकीय तथा भौगोलिक कार्य क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूका लागि विवरण पेश गर्न सूचना जारी गरेको सूचनामार्फत उल्लेख गरेको छ ।