२२ वर्षमै शैक्षिक व्यवसायी बनेका अधिकारी बने प्याब्सनको अध्यक्ष, सिमेन्ट र हाइड्रोमा पनि लगानी

<p>काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्याब्सनको १६औं महाधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । प्याब्सनको वरिष्ठ उपाध्यक्षको रूपमा काम गरिरहेका उनी नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष सर्वसम्मत भएपनि कुल ६६ जनाको कार्यसमिति बनाउँदै आएको प्याब्सनले बाँकी पदाधिकारी छनोटको [&hellip;]</p>

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्याब्सनको १६औं महाधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । प्याब्सनको वरिष्ठ उपाध्यक्षको रूपमा काम गरिरहेका उनी नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष सर्वसम्मत भएपनि कुल ६६ जनाको कार्यसमिति बनाउँदै आएको प्याब्सनले बाँकी पदाधिकारी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । सर्वसम्मत रूपमा अध्यक्ष बनेका अधिकारी विगत तीन दशकदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् ।

काठमाडौंमा शैक्षिक संस्था सञ्चालन गरेर यो क्षेत्रमा लागेका अधिकारी एक परिचित शैक्षिक व्यवसायी हुन् । काठमाडौंको बुढानिलकण्ठमा एक विद्यालय सञ्चालनमा ल्याएर शैक्षिक व्यवसाय सुरु गरेका अधिकारीले हाल तीन वटा शैक्षिक संस्था संस्था सञ्चालन गरिरहेका छन् ।

अधिकारीको घर स्याङ्जा हो । उनलाई सानैदेखि शिक्षा क्षेत्रमा सक्रिय बन्ने रुचि थियो । उनले आफ्नो रुचि अनुसार २२ वर्षको उमेरमै शैक्षिक संस्था सञ्चालनमा ल्याएर आफ्नो यात्रा सुरु गरेका हुन् ।

उनी ३५ वर्षअघि भाइबहिनीलाई पढाउने, आफू पनि पढ्ने उद्देश्यले काठमाडौं आए । काठमाडौं आएर उनी पढ्ने र पढाउने काममा लागे । त्यही बेलामा उनी एउटा निजी अस्पतालमा काम गर्न थाले ।

स्याङजामा उनका बुवाको पनि विद्यालय थियो । उनी गाउँमै हुँदा पनि त्यो विद्यालयमा पढाउने काम गर्थे । काठमाडौं आएर पनि उही यही पेशामा आवद्ध भए । गाउँमा पनि पढाउने र काठमाडौंमा पनि पढाउने पेशामा आवद्ध हुँदा उनलाई अब आफ्नै स्कुल सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो ।

‘मलाई यही काममा रुचि बसिसकेको थियो, अब यही क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो, त्यसपछि आफै स्कुल सञ्चालन गरेँ, यो क्षेत्रमा लागेँ,’ उनले भने ।

उनले विसं २०५० सालमा भ्याली पब्लिक स्कुल सञ्चालन गरेका थिए । उनी शिक्षा क्षेत्रमा लागेकै वर्षदेखि प्याब्सनमा आवद्ध भए ।

प्याब्सनको संस्थापक अध्यक्ष रत्नबहादुर बज्राचार्य हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए । प्याब्सनमा आवद्ध भएको करिब तीन दशकपछि उनी सोही संस्थाको नेतृत्वमा पुगेका हुन् ।

संस्थापक अध्यक्ष बज्राचार्यको कार्यकालदेखि अहिलेसम्म उनी ४ पटक केन्द्रीय सदस्य, दुई पटक केन्द्रीय सचिव, पाँच पटक केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको अनुभव छ ।

भ्याली पब्लिक विद्यालयबाट शैक्षिक व्यवसायीको यात्रा सुरुगरेपछि उनले पछि भद्रकाली इंङ्गलिस मिडियम सेकेन्डरी स्कुल, भ्याली पब्लिक मन्टेश्वरीसहित तीनवटा विद्यालयमा लगानी गरे । भ्याली स्कुलको नाम अहिले परिवर्तन गरेर सुन्दरवस्ती राखिएको छ । शिक्षाको उज्यालो फैलाऔं भन्ने नारासहित सो विद्यालय सञ्चालित छ । अहिले यो विद्यालयमा १ हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

काठमाडौको बुढानीलकण्ठमा रहेको यो विद्यालयले आधुनिक शिक्षणविधि प्रयोग गर्दै उत्कृष्ट शिक्षा प्रदान गरिरहेको छ । यो स्कुलमा विद्यार्थीको आकर्षण बढेपछि कृष्णले भद्रकाली इंग्लिस मिडियम सेकेन्डरी स्कुल र भ्याली पब्लिक मन्टेश्वरी सञ्चालनमा ल्याएको जानकारी दिए ।

२२ वर्षमै शैक्षिक व्यवसायी

२२ वर्षको उमेरमै शैक्षिक व्यवसायी भनेर चिनिनु सामान्य विषय थिएन । विभिन्न चुनौतीहरूलाई सामना गर्दै उनी शैक्षिक व्यवसायको यात्रामा होमिए । त्यतिबेला नेपालमा सरकारी विद्यालयमात्रै थिए । निजी विद्यालय सञ्चालनमा ल्याउने जग बस्नै लागेको थियो ।

काठमाडौं उपत्यकामा पनि अहिले जस्ता ठाउँठाउँमा छ्यापछ्याप्ती निजी विद्यालय थिएनन् । उनले साथीहरूसँग मिलेर विद्यालय सञ्चालन गरे । विद्यालय सञ्चालनमा ल्याउनेबित्तिकै प्याब्सनमा आबद्ध उनले स्विट्जरल्याण्ड जाने मौका पनि पाए ।

स्वीट्जरल्याण्ड जाँदा उनले त्यहाँका १६ वटा विद्यालयको भ्रमण गर्ने अवसर पाए । ‘नेपालमा कस्ता विद्यालय र कस्ता खालका पूर्वाधार हुनुपर्छ भन्ने विषय त्यतिखरे थाहा पाएँ, विद्यालयमा पुस्तकालय, शौचालयक, खानेपानी, ल्याब कति आवश्यक छ भन्ने विषय त्यहाँ गएपछि थाहा पाएँ,’ उनी भन्छन्, ‘सोही अनुसारमा नेपालमा काम गरियो ।’

उनी नेपाल फर्किएर सोही किसिमको सुविधा सुरु गरे । उनले त्यसका लागि अभिभावकको साथ खोजे । अहिले उनले सञ्चालन गरेका विद्यालय सुविधा सम्पन्न छन् ।

‘म प्याब्सनको सुरुवातीदेखि नै आवद्ध व्यक्ति हुँ, कस्ता विषय उठाउनुपर्छ, के विषयमा बहस गर्नुपर्छ भन्ने राम्रोसँग थाहा छ,’ उनी भन्छन्, ‘अवस्था पहिलेको जस्तो छैन, तर अझै सुधार गर्नुपर्ने थुप्रै कुराहरू छन् ।’

‘नेपाललाई शैक्षिक हब बनाउने उद्देश्य छ’

नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको ठूलो भूमिका छ । सरकारी विद्यालयले गुणस्तर सुधार नगर्दा विद्यार्थीको रोजाइ निजी विद्यालय बनिरहेको छ । धेरैको आकर्षण निजी विद्यालयमा छ । निजी विद्यालयलले नतिजा पनि सोही किसिमले दिइरहेका छन् ।

नेपालमा हरेक वर्ष हुने एसईई परीक्षाको नतिजा हेर्दा पनि निजी विद्यालयमा अध्यनरत विद्यार्थी राम्रो अंक ल्याएर पास हुने गरेका छन् । निजी विद्यालयका चुनौती पनि व्याप्त छन् । ती चुनौतीको सामनाका साथ समाधान गर्नुपर्ने दायित्व अब अधिकारीको काँधमा आइलागेको छ ।

नेपालमा निजी विद्यालयले सहज रुपमा काम गर्न सरकारी नीति बाधक बनिरहेको छ । त्यो आवाज निजी शैक्षिक संस्था सञ्चालकले राखिरहेका छन् । अब त्यो आवाजको नेतृत्व गर्ने जिम्मेवारी अधिकारीसामू आइपुगेको छ । उनले वर्तमान समस्या समाधानका लागि आफू लागिपर्ने धारणा राखे ।

‘नेपाललाई शैक्षिक हब बनाउने मेरो उद्देश्य छ, निजी क्षेत्रबाट काम गर्ने व्यवसायीलाई धेरै चुनौती छ, ती समस्याको समाधानका लागि काम गर्छु, निजी विद्यालयलाई कर छुट, विद्यार्थीको लागि छात्रवृत्ति, विद्यालय विधेयक आएको छैन, शिक्षकको सामाजिक सुरक्षा कोषको विषयमा आवाज उठाउँछु, समस्या धेरै समाधान गर्नुपर्नेछ,’ उनले भने ।

अधिकारीको शिक्षासँगै सिमेन्ट र जलविद्युतमा पनि लगानी छ ।

Share News