काठमाडौं । पुँजी बजारमा सूचीकृत ४ कम्पनीले सूचीकृत कम्पनीहरूको सेयर खरिद गर्न नपाउने व्यवस्था गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीलाई दोस्रो बजार र लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयर खरिदमा रोक लगाएको हो ।
धितोपत्र बोर्डका अनुसार लगानी समूहका ती ४ कम्पनीले दोस्रो बजार र लिलामी प्रक्रियामार्फत सेयर किन्न नपाउने भएका हुन् । नेप्सेको लगानी समूहमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सीईडीबी होल्डिङ्स, इमर्जिङ नेपाल र हाथवे इन्भेस्टमेन्ट नेपाल सूचीकृत छन् । यी कम्पनीले नेप्सेमा सूचीकृत कम्पनीको सेयर र लिलामी सेयर किन्न नपाउने धितोपत्र बोर्डले जनाएको छ ।
‘धितोपत्र बोर्डको २०७५ मंसिर १२ गते र २०७६ वैशाख ३० गतेको निर्णयानुसार प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्राप्त लगानी कम्पनीले आर्थिक पूर्वाधार (ऊर्जा, यातायात र सञ्चार) सँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयरबाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजारमार्फत धितोपत्र खरिद गर्न नसक्ने नीतिगत व्यवस्था रहेको छ । त्यस्ता संस्थाहरुले हकप्रद सेयरको लिलाम बढाबढमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएकोले नीतिगत व्यवस्थाअनुसार सेयर खरिद रोक्ने निर्णय गरेको हो,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।