काठमाडौं । एउटा खाताबाट एक भन्दा बढी कार्ड जारी गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर, डोमेस्टिक कार्ड स्किम अन्तर्गतका कार्डहरू जारी गर्दा यो व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।
कार्ड मार्फत उपलब्ध हुने नियर फिल्ड कम्युनिकेसन, थ्रीडी सेक्योर, भर्चुलाइजेशनलगायतका अन्य सुविधाहरूको उपयोगिता, जोखिम तथा शुल्क तिर्नु पर्ने भएमा सोसम्बन्धी जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।
ग्राहकले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरेनगरेको पहिचान गरी आधिकारिक भीपीएनको प्रयोग नभएमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था समेत)ले भुक्तानीसम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरुको नियमित रुपमा डीसी–डीआर ड्रिल गर्नुपर्नेछ । कुनै पनि प्रणालीको डीसी-डीआर ड्रिल कम्तीमा २ वर्षमा एक पटक गर्नुपर्नेछ । डीसी–डीआर ड्रिल सम्पन्न भएको १५ दिनभित्र उक्त ड्रिलको प्रतिवेदन राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार संस्थाले नेपाल सरकारको सूचना प्रविधि विभागले डाटा सेन्टरको रुपमा कार्य गर्न सूचिकृत गरेको संस्थासंग मात्र आफ्नो डाटा सेन्टर राख्न सक्नेछन् । अनुमतिपत्रप्राप्त संस्थाहरुले हाल कायम रहेको डाटा सेन्टर ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ मा तोकिएको समयमा सूचिकृत भए/नभएको एकीन गर्नुपर्ने छ ।