काठमाडौं । ‘बैंकिङ क्षेत्रमा पर्याप्त तरलता छ । बजारमा लगानीको माग छैन । न्यून ब्याजदरमा पनि लगानी गर्न धौधौ भइरहेको छ । संस्थागत लगानीकर्ताहरूले निक्षेपमा लगानी नगरे हुन्थ्यो नि,’ एक बैंकरले भने, ‘अब लगानी नगरौं, समस्या परेको बेला निक्षेप माग्न गाह्रो हुन्छ । लगानी गरौं कर्जाको माग छैन ।’
अहिले न्यून ब्याजदरमा बोलकबोल गर्दा पनि संस्थागत लगानीकर्ताहरूले सहजै निक्षेप दिने गरेको ती बैंकरको भनाइ छ । सम्बन्ध कायम राख्नका लागि मात्रै संस्थागत निक्षेपमा लगानी गरिरहेको उनको भनाइ छ । तर, अधिकांश बैंकले त निक्षेप नै लिन छाडिसकेको उनले बताए ।
बैंकरले गुनासो गरेजस्तै नागरिक लगानी कोषका बरिस्ठ सहायक (सूचना प्रविधि) देवनारायण गुरागाईं बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा कोषको लगानीमा समस्या भइरहेको बताउँछन् । कोषले योगदानकर्ताबाट ५ प्रतिशतबाट बचत लिनुपरको तर सस्तो ब्याजदरमा बैंकमा लगानी गर्नु परेको उनको भनाइ छ ।
‘बैंकहरूमा पर्याप्त तरलता छ । ब्याजदर पनि न्यून छ । न्यून मूल्यमा बोलकबोल गर्छन् । कम मूल्यमा बिड गर्दा समस्या छ । कोषले ५, साढे ५ प्रतिशतमा बचत लिइरहेको छ । तर, हामीले बैंकको मुद्दतीमा राख्ने ब्याजदर एकदमै न्यून छ । ३/४ प्रतिशत हाराहारीमा मुद्दतीमा राख्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामी बिडिङ जान्छौं । बिडिङमा जाँदा बिड नहाल्ने, हालेपनि न्यून मूल्यमा बिड हाल्ने गरेका छन् ।
‘पहिलाको जस्तो पैसा चाहियो हजुर भनेर माग्दै आउँदैनन् । पहिला अनुनय, विननय गर्थे । अहिले बजारमा प्रयाप्त तरलता हुँदा वास्ता नै गर्दैनन् । कोषमा पनि सञ्चयकर्ताहरूले सञ्चय गरिरहनु भएको छ । निक्षेप संकलन भइरहेको छ । सोच जस्तो लगानी नहुँदा सस्तो दरमा पनि लगानी गरिरहेका छौं, ’ उनले थपे ।
उनका अनुसार नागरिक लगानी कोषको मासिक ५/६ अर्ब रुपैयाँ होल्ड हुने गर्छ । तर, फालाफालको अवस्था भने हुँदैन । ९ प्रतिशत ब्याजमा लगानी गरेको रकम परिपक्व भएर नवीकरण गर्दा ब्याजदर ३/४ प्रतिशतमा झर्ने गरेको उनले बताए । कुनै परिपक्व भएको निक्षेप त परिपक्व भएपछि लगानी नै नहुने अवस्था रहेको उनले बताए ।
सञ्चयकर्ताबाट मासिक ५ अर्ब भन्दा बढी संकलन हुने गरेको उनले जानकारी दिए । कोषको कुल रकम २ खर्ब ६५ अर्ब रुपैयाँ पुगिसकेको उनको भनाइ छ । कोषले तत्काल कुनै क्षेत्रमा लगानी नगरेको उनले बताए ।
‘सहभागीहरूलाई दिने कर्जामा भने कोषको लगानी बढेको छ । विगतका तुलनामा घरकर्जा, ओडी, सापटीमा बढेको छ,’ उनले भने, ‘अन्य जलविद्युत आयोजना वा प्रोजेक्ट लोन गइरहेको छैन । बजारमा माग पनि छैन । बैंकमा पनि माग कम छ । झन् हाम्रा संस्थामा अलिअलि आएका हुन्छन् । तैपनि त्यहाँ लगानी भइसकेको अवस्था भने छैन ।’
कर्मचारी सञ्चय कोषका वरिष्ठ प्रबन्धक रामचन्द्र पोखरेलले पनि बैंक तथा वित्तीय संस्थाहरूले सहज रूपमा निक्षेप नलिँदा समस्या भइरहेको बताउँछन् । विगतमा निक्षेप माग्दै आउने बैंकरहरू यतिबेला चासो नै दिन छाडेको उनले गुनासो गरे ।
‘हाल बैंकको ब्याजदर न्यून छ । ब्याजदर न्यून हुँदा पनि हाम्रो सबै रकम लगानी हुन सकिरहेको छैन । ३ प्रतिशत ब्याजदर निक्षेप राख्न बाध्य छौं । लगानी नभएपछि के गर्नु ?,’ उनले भने, ‘बैंकहरूलाई अफ्ठेरो पर्दा हामीले निक्षेप दिने गरेका छौं । संस्थासँग हारगुहार गरेर निक्षेप लगेर चलाएर नाफा खान्छन् । आज निक्षेप लिँदैन भन्दा संस्थाले कहाँ लगानी गरुन् ?’
उनका अनुसार कर्मचारी सञ्चय कोषको डेढ खर्ब रुपैयाँ संस्थागत मुद्दती निक्षेपमा लगानी छ । तर, पछिल्लो समय बैंकहरूले निक्षेप नलिँदा विकास ऋणपत्र, ट्रेजरी बिलमा लगानी गर्नुपरेको उनको भनाइ छ । जबकि सञ्चय कोष जस्तो संस्थाले ट्रेजरी बिलमा लगानी गर्नु हुँदैन ।
‘हामीलाई समस्या छ । अहिले बैंकहरूको सेयर मूल्य कम छ । बैंकको सेयरमा लगानी गर्न दिने हो भने लगानी व्यवस्थापन गर्न सकिन्छ । तर, यहाँ कसैले बुझिदिँदैनन्,’ उनले भने, ‘अरु बेला लाइन लाग्ने आज लिन मान्नु हुन्न । प्रोजेक्ट लोन दिन हाम्रो पनि इच्छा छ । तर, कोही पनि कर्जाका लागि आउँदैनन् । नआएपछि हामीले सरकारी बण्डमा १०/१२ अर्ब रुपैयाँ र ५/६ अर्ब रुपैयाँ ट्रेजरी बिलमा लगानी गरेका छौं ।’
उनका अनुसार खराब कर्जा (एनपीएल) अनुपातको सीमा ५ प्रतिशतभन्दा बढी भएका बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा समेत निक्षेप राख्ने गरिएको छ । बजारमा बैंकको कर्जा लगानी नहुँदा समस्या भइरहेको उनले बताए ।
‘बजारबाट मासिक २०/२५ अर्ब रुपैयाँ फिर्ता आइरहन्छ । अनि सञ्चयकर्ताको बचत र ब्याज गरेर थप ८/१० अर्ब रुपैयाँ आउँछ । सञ्चय कोषले महिनामा ३०/४० अर्ब रुपैयाँ व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यो रकम व्यवस्थापन गर्न हामीलाई सकस भइरहेको छ,’ उनले भने, ‘हामी टाइट हुँदा २ अर्ब रुपैयाँ राख्छौं भने अहिले १०/१२ अर्ब रुपैयाँ होल्ड भएर बसेको होला । साढे ६ खर्ब रुपैयाँमा १०/१२ अर्ब रुपैयाँ भनेको खासै ठूलो रकम पनि होइन ।’
कर्मचारी सञ्चय कोषले सञ्चय कोष (प्रोभिडेन्ट फण्ड) तथा निवृत्तभरण कोष (पेन्सन फण्ड) ५.५० प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ । साढे ६ लाख सञ्चयकर्ता तथा योगदानकर्तालाई कोषले उक्त ब्याज दिइरहेको छ ।
यस्तै, नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषमा ५ प्रतिशत, कर्मचारी वचत वृद्धि सेवानिवृत्ति कोषमा ६ प्रतिशत, नागरिक इकाई योजनाको व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, लगानीकर्ता तथा उपदान कोष, बीमा कोषतर्फ निजामती, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका लागि ३.५ प्रतिशत तोकेको छ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले महँगो ब्याजदरका सञ्चयकर्ता तथा योगदानकर्ताबाटबचत संकलन गरेपनि सस्तो दरमा लगानी गर्नुपर्ने बाध्यता छ ।