
काठमाडौं । सोमबार घटेको सेयर बजार मंगलबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार मंगलबार नेप्से ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा कायम भएको छ । सोमबार नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा पुगेको थियो ।
सोमबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ३१८ स्टकको १ लाख २२ हजार ३३६ पटक कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको कारोबार भएको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्स्यारेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर सोमबार पनि सकारात्मक सर्किट लागेको थियो । त्यस्तै, आज सिन्धु विकास बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज १३ उपसमूह नै राताम्मे देखिएका छन् । बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, व्यापार ०.८४, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य ०.०६, निर्जीवन बीमा १.११, जीवन बीमा ०.५९ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आज हिमालयन रिइन्स्यारेन्सको सर्वाधिक १ अर्ब ९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्यारेन्स कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै सिन्धु विकास बैंकको ४७ करोड १३ लाख, घलेम्दी हाइड्रोको ३९ करोड १० लाख र युनिर्भसल पावरको २७ करोड ५२ लाखको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।