
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पश्चात् सेयर बजारमा हरियाली छाएको छ । निरन्तर उकालो लाग्दै साताको पहिलो करोबारको दिन अर्थात् आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको हो ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको छ । आइतबार १९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको देखिन्छ ।
आइतबार ३०२ कम्पनीको २ करोड ९१ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ । जुन ६ महिना यताकै उच्च हो । यसअघि गत भदौमा नेप्से कारोबार १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको थियो ।
गत बिहीबार भने ११ अर्ब ३९ करोडको कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ९७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ८५ करोड, सिन्धु विकास बैंकको ४० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३३ करोड र साहस ऊर्जाको २६ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । हिमालयन डिस्टीलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैक र डोर्दी खोलाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
यस्तै समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।