काठमाडौं । राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिन माग गरेकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन् ।
‘वर्तमान सरकारले सहकारी समस्या समाधानमा कम चासो देखाएको हो कि भन्ने लागेको छ, सहकारीका कारण कैयौँ पीडित भएका छन् । त्यसैले जतिसक्दो चाँडो उनीहरुको समस्यमा समाधान गर्नुपर्छ’, उनले भनिन् ।
सांसद नरबहादुर विष्टले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भनिए पनि पटक–पटक मिति सारिएको भन्दै समयमै गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । ‘प्रतियोगिता आगामी चैत २३ गते गर्ने भनिएको थियो, अब फेरि जेठ २३ गते सारिएको छ, मिति सार्नुले समग्र खेलाडीमाथि अन्याय भएको छ, जेठ २३ गते पनि हुन्छ नै भन्ने टुङ्गो छैन, सरकारले तोकिएकै मितिमा हुन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्छ’, उनले भने । रासस