काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने समय लम्बिएको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिने म्याद ७ दिन थप गरेको हो ।
समय थप भएसँग अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि गत फागुन १२ गते सूचना प्रकाशन गर्दै समितिले फागुन १८ गतेसम्म सीईओ पदका लागि आवेदन माग गरेको थियो । तर, उक्त समयमा तीन दिन सार्वजिनक बिदा परेको कारण समय थप गरिएको सिफारिस समितिले जनाएको छ ।
इच्छुक नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेलाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् ।
कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओबिहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।