राणाकालीन झल्को दिँदै न्युरोड (तस्बिरहरू)

  २०८१ फागुन १३ गते १७:४०     विकासन्युज

न्यूरोड काठमाडौं उपत्यकाको प्रमुख व्यापरिक केन्द्र हो । अब न्यूरोड काठमाडौंको मात्रै नभएर मुलुककै मुख्य व्यापार केन्द्र बनेको छ । अहिलेको यो व्यापारिक हव न्युरोडको आफ्नै ऐतिहासिक महत्व छ । राणाकालिन अवस्थामा समेत न्यूरोडको चर्चा र महिमा उत्तिकै थियो ।

राणा प्रधानमन्त्री जुद्ध शमसेरको पालामा न्यूरोड मौलिक थियो । घरहरुमा सेतो रंग लगाइएको हुन्थ्यो भने झयाल ढोकामा हरियो रंग लगाइएको हुन्थ्यो । घरहरु पनि प्राय एकैनासका, बेलायति शैलीका । जुद्ध शमसेरको पालामा न्यूरोड खास थियो भन्ने कुरा अहिले पनि न्यूरोडको मुख्य चोकमा जुद्ध शमसेरको सालिक हुनुले पुष्टी गर्छ ।

जुद्ध शमसेरको शासन काल मै न्युरोड नदेखे पनि काठमाडौं महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले जुद्ध शमसेरको पालमा बनेका घरको स्वरूप भने देखेका थिए ।

समय क्रमसंगै जुद्ध शमसेरको पालाको न्यूरोड फोरियो । बेलायती शैलीका घरहरु भत्काएर आधुनिक घरहरु बन्न थाले । काठका कलात्मक झयाल र ढोकाको सट्टा अन्य किसिमका झ्याल र ढोका राखेर घरहरु बने । रंगरोगन पनि विविध किसिमको लगाइयो ।

यी सबै कुरालाई देखेका वडा अध्यक्ष राजभण्डारीले केहि हद सम्म भए पनि पुरानै स्वरूपमा लैजाने उद्देश्यले न्युरोडवासीसंग एकै नासको रंग लगाउने प्रस्तव गरे । उनकै प्रस्तावलाई स्वीकार गरेर अहिले न्यूरोडका घर धनीहरुले आआफ्नो घरमा सेतो रंग लगाउन थालेका छन् । जसले गर्दा केहि हद सम्म भए पनि पुरानै मौतिकता तर्फ फर्किएका महसुस भएको छ ।

शब्द र तस्बिर : मिडिया साइट्स नेपाल