काठमाडौं । एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)को सेयर खरिद गरेको छ । कम्पनीले एलआईसी नेपालको ४ लाख ७५ हजार ७ सय कित्ता सेयर खरिद गरेको हो ।
एलआईसी नेपालले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत बिक्री गरेको थियो ।
जसमध्ये एनआरएन इन्फ्राइट्रक्चरले सर्वसाधारण समूहतर्फको ४ लाख ७५ हजार कित्ता सेयर खरिद गरेको हो । एनआरएन इन्फ्राइट्रक्चरले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने सूचीकृत कम्पनी हो । पछिल्ला दिनहरूमा कम्पनी आक्रमक रूपमा लगानी परिचालन गर्दै आएको छ ।