काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको सञ्चालक समितिको गत माघ २८ गते बसेको बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य सेयरधनीहरूलाई वितरण गर्ने भएको हो । लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर क्लव काठमाण्डौंमा वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभाले सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश तथा फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पुँजी ४ अर्ब १ करोड रुपैयाँ अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्नेछ ।
यस्तै, सभाले अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
सभाले सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन र आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्नेछ । साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिनेछ ।
सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा सभाबाट अनुमोदन गर्ने र सर्वसाधरण सेयरधनीको तर्फवाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्नेछ ।