करोड बढी तलब खान्छन् होटलका सीईओ, यस्तो छ सुविधासम्पन्न यी ६ होटलका सीईओको तलब

  २०८१ फागुन १ गते ११:०९     विकासन्युज

काठमाडौं । सुविधा सम्पन्न ६ वटा होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धकहरूले आकर्षक तलब सुविधा लिने गरेका छन् । होटलका लागि अनुभवी, योग्य र विज्ञ सीईओ आवश्यक पर्ने भएकोले कम्पनीले पनि आकर्षक तलब सुविधा प्रदान गरेर सीईओ राख्ने गरेको देखिएको हो ।

६ वटा पब्लिक कम्पनीका रूपमा सूचीकृत भएका होटलहरूमा कार्यरत सीईओहरूले एक कराड बढी बढी तलब सुविधा लिने देखिएको हो । सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा बढी हायात र सोल्टी होटलका सीईओले तलब लिने गरेका छन् ।

कुन सीईओको तलब कति ?

तारागाउँ रिजेन्सी होटल्स

गत आर्थिक वर्ष २०८०/८१ मा यस कम्पनीले प्रबन्ध सञ्चालकलाई कुल १ करोड २० लाख ८७ हजार २४ रुपैयाँ र कार्यकारी सञ्चालकलाई ८१ लाख ७ हजार १५० रुपैयाँ पारिश्रमिकवापत भुक्तानी गरेको छ । साथै गाडी तथा इन्धन सुविधा पनि प्रदान गरिएको छ ।

होटलको सञ्चालक समिति बैठक बस्दा प्रतिबैठक अध्यक्ष र सदस्यहरूलाई समान रूपमा ११ हजार ७६४ रुपैयाँ बैठक भत्ता प्रदान गरिएको छ । आव २०७९/८० मा प्रबन्ध सञ्चालकलाई कुल १ करोड ११ लाख ८९ हजार ६३ रुपैयाँ (करसमेत) र कार्यकारी सञ्चालकलाई ७५ लाख ४ हजार ८५९ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रबन्ध सञ्चालक अरुणकुमार सराफ छन् भने कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठ छन् ।

सोल्टी होटल लिमिटेड

सोल्टि होटलले आ‍व २०८०/८१ मा कम्पनीका कार्यकारी अध्यक्ष, उपाध्यक्ष, महाप्रबन्धक र प्रबन्धकहरूलाई पारिश्रमिक, भत्ता र अन्य सुविधाहरू वापत १६ करोड २० लाख १८ हजार ७३८ रुपैयाँ प्रदान गरेको कम्पनीले जनाएको छ । आव २०७९/८० मा कार्यकारी अध्यक्ष, उपाध्यक्ष, महाप्रबन्धक र प्रबन्धकहरूलाई कम्पनीले १४ करोड ३६ लाख ४६ हजार ३७७ रुपैयाँ प्रदान गरेको थियो ।

गत आवमा यस कम्पनीको कुल ६ पटक सञ्चालक समितिको बैठक बसेको थियो । गत वर्ष कम्पनीका कार्यकारी अध्यक्षले बैठक भत्ता लिएका थिएनन् । तर, सञ्चालक समितिका सदस्यहरूले बैठक भत्ता बापत १७ लाख ९४ हजार १३२ रुपैयाँ बुझेको कम्पनीले जनाएको छ । कम्पनीले सञ्चालक समितिको प्रति बैठक भत्ता बापत २५ हजार रुपैयाँ प्रदान गर्दै आएका छन् । कम्पनीका अनुसार आव २०७९/८० मा सञ्चालकहरूलाई १४ लाख ९० हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको थियो ।

कम्पनीले कार्यकारी अध्यक्ष, उपाध्यक्ष र महाप्रबन्धकहरुलाई अन्य सुविधाहरुको रुपमा ड्राइभर, सवारीसाधनको इन्धन तथा मर्मतसम्भारसहित कार्यालय सवारी साधन (कार) पनि उपलब्ध गराउने व्यावस्था गरेको छ । कम्पनीको कार्यकारी अध्यक्ष पदमा दिनेशबहादुर विष्ट कार्यरत छन् भने उपाध्यक्ष पदमा सुदर्शन चापागाईं छन् ।

ओरियण्टल होटल्स लिमिटेड

ओरियण्टल होटल्सले आव २०८०/८१ मा प्रबन्ध सञ्चालकलाई १ करोड ३६ लाख ५० हजार रुपैयाँ, सहप्रबन्ध सञ्चालकलाई ७३ लाख ६१ हजार ९०६ रुपैयाँ र महाप्रबन्धकलाई १ करोड १० लाख ४२ हजार २१६ रुपैयाँ पारिश्रमिक प्रदान गरेको छ । यसको अलावा निजहरूसँग भएको सम्झौता बमोजिम बस्ने गरेको घरको बिजुली, खानेपानी, मर्मत सम्भार तथा टेलिफोन खर्च पनि कम्पनीले नै व्यहोर्ने गरेको छ ।

सञ्चालक समितिमा भाग लिए बापत प्रतिबैठक भत्ता अध्यक्षलाई १० हजार रुपैयाँ र अन्य सञ्चालकहरुलाई ९ हजार रुपैयाँ उपलब्ध गराएको कम्पनीले जनाएको छ । आव २०७९/८० मा प्रबन्ध संचालकलाई १ करोड ३६ लाख ५० हजार रुपैयाँ, सहप्रबन्ध संचालकलाई ७३ लाख ६१ हजार ४०५ रुपैयाँ र महाप्रबन्धकलाई ८८ लाख ६ हजार २५० रुपैयाँ पारिश्रमिक प्रदान गरिएको थियो ।

सिटि होटल

सिटि होटलले गत आव २०८०/८१ मा कम्पनीका महाप्रबन्धक वरुण तलवारलाई ९० लाख ६३ हजार ९७५ रुपैयाँ भुक्तानी गरेको छ । आव २०७९/८० मा महाप्रबन्धक वरुण तलवारलाई ९३ लाख ९ हजार ९०१ रुपैयाँ भुक्तानी गरेको थियो ।

यस कम्पनीका सञ्चालकहरूलाई प्रत्येक बैठक बापत १० हजार रुपैयाँ (कर सहित) बाहेक कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा दिइएको छैन । सञ्चालक समितिलाई आव २०८०/८१ मा भुक्तान गरिएको कुल बैठक भत्ता ३ लाख रुपैयाँ रहेको छ । आव २०७९/८० मा सञ्चालकहरूलाई बैठक भत्ता बापत २ लाख ८० हजार रुपैयाँ भुक्तानी गरिएको थियो । कम्पनीको अध्यक्ष पवन कुमार गोल्यान छन् भने कार्यकारी निर्देशक अक्षय गोल्यान छन् ।

चन्द्रागिरि हिल्स

चन्द्रागिरि हिल्सको सीईआले ६१ लाख बढी तलब सुविधा लिने गरेका छन् । आव २०८०/८१ मा कम्पनीका पूर्व महाप्रबन्धक संजिव थापालाई पारिश्रमिक, भत्ता, तथा सुविधामार्फत ३० लाख ४० हजार १८४ रुपैयाँ (कर सहित) प्रदान गरिएको थियो भने हालका प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानलाई पारिश्रमिक, भत्ता, तथा सुविधा मार्फत ३१ लाख ६३ हजार ९६५ रुपैयाँ (कर सहित) प्रदान गरिएको छ ।

आव २०७९/८० मा कम्पनीका पूर्वमहाप्रबन्धक सञ्जीव थापालाई पारिश्रमिक, भत्ता, तथा सुविधामार्फत ६१ लाख १२ हजार ३२५ रुपैयाँ (कर सहित) प्रदान गरिएको थियो । साथै सो वर्ष निमित्त महाप्रबन्धक श्याम तण्डुकारलाई पारिश्रमिक, भत्ता तथा सुविधाबापत ३४ लाख ५६ हजार ९२४ रुपैयाँ (कर सहित) प्रदान गरिएको थियो ।

आव२०८०/८१ मा सञ्चालकहरूलाई सञ्चालक समितिको बैठक भत्ताका रुपमा संचालक समितिका अध्यक्षलाई १ लाख ६० हजार तथा अन्य संचालकहरुलाई ५ लाख ९५ हजार रुपैयाँ भुक्तानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा संचालकहरूलाई बैठक भत्ताका रुपमा संचालक समितिका अध्यक्षलाई ६५ हजार तथा अन्य संचालकहरूलाई २ लाख ३ हजार भुक्तानी भएको छ ।

कालिञ्चोक दर्शन

कालिञ्चोक दर्शन लिमिटेडले गत आव २०८०/८१ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब तथा अन्य सुविधाबापत् एक वर्षमा २८ लाख बढी भुक्तानी गरेको छ । उनलाई तलब बापत १७ लाख ७४ हजार ८ सय रुपैयाँ, भत्ता तथा बोनस बापत ८ लाख ४० हजार ५२५ रुपैयाँ, सञ्चय कोष बापत १ लाख ८ हजार ७८० रुपैयाँ र दशैँ भत्ता बापत ९० हजार ६५० रुपैयाँ भुक्तानी गरेको छ ।

साथै सीईओलाई गाडी सुविधासँगै चालक, मोबाइल खर्च, बीमा ऐन बमोजिम बोनस पनि प्रदान गरिएको कमपनीले जनाएको छ । कम्पनीमा सीईओ अशोक शिवाकोटी कार्यरत छन् । कम्पनीले सञ्चालकहरूलाई बैठक भत्ता बापत ४ लाख ८३ हजार रुपैयाँ प्रदान गरेको छ ।

आव २०७९/८० मा कम्पनीले सीईओलाई तलब बापत १६ लाख २० हजार रुपैयाँ, सञ्चय कोष बापत १ लाख ५ हजार ३ सय रुपैयाँ र दशैँ भत्ता बापत ८७ हजार ७५० रुपैयाँ भुक्तानी गरेको थियो । साथै सञ्चालकहरूलाएै बैठक भत्ता भत्ता बापत ५ लाख ६२ हजार रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ ।