रायन इनर्जीको आईपीओ जारी गर्ने योजना, ग्लोबल आईएमई क्यापिटलसँग गर्‍यो सम्झाैता

  २०८१ माघ २९ गते १८:२७     विकासन्युज

काठमाडौं । रायन इनर्जी र ग्लोबल आईएमई क्यापिटलबीच सम्झाैता भएकाे छ ।

रायन इनर्जीले आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्न लागेको हुँदा संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र आईपीओ सम्बन्धी सेवाको लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको हाे ।

राजधानीमा आयोजित एक विशेष कार्यक्रममा रायन इनर्जीको तर्फबाट प्रबन्ध सञ्चालक दीपककुमार रौनियार र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

रायन इनर्जी दुई, तीन तथा चार पाङ्ग्रे विद्युतीय सवारीसाधनहरुको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम र सञ्चालन प्रणाली एकीकृत गर्ने तथा नेपालको यातायात क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले स्थापित भएकाे थियाे ।

यस कम्पनीले २०७८ सालदेखि उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका इलेक्ट्रिक साधनहरू (दुई, तीन र चार पाङ्ग्रे) उत्पादन गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो ।

यो संस्था विभिन्न क्षेत्रमा अनुभवी तथा नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका सक्रिय व्यवसायीहरुको समूहद्वारा स्थापित व्यावसायीक संस्था हो ।

यस समूहले एसेम्बली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा सहरी विद्युतीकरणको साथै सौर्य सिँचाइ, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापनालगायतका विभिन्न व्यावसायीक क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ ।

यसले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दिगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिएको छ ।