२०८१ माघ २९ गते १०:५५ विकासन्युज
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले अत्यधिक तलब खान्छन् भन्ने विषय अहिले वित्तीय क्षेत्रमा सामान्य भइसकेको छ । कुनैबेला बैंकका सीईओहरूको तलब सुन्ने बित्तिकै धेरैले आलोचना पनि गर्ने गरेका थिए । वार्षिक दुई/तीन करोड रुपैयाँ तलब खाने सीईओहरूले काम चाहिं के गर्छन् भनेर बहस हुने गर्छ । अहिले पनि बेलाबखत सीईओको तलबको विषयमा बहस हुन्छ ।
तलबको विषयमा बहस गर्ने समाजले बढी तलब बुझ्ने व्यक्तिहरूको कार्यक्षमता, योग्यता, अनुभव, उनीहरूले कम्पनीको आर्थिक सुधारमा खेलेको भूमिका, कम्पनीको ब्राण्डिङ अर्थात् छवि सुधारमा गरेको प्रयास र टिम परिचालन तथा व्यवसाय विस्तारमा गरेको योगदानको चर्चा भने बिरलै हुन्छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलबको विषयमा सधैंजसो चर्चा हुने गरेपनि यस सामग्रीमा भने हामीले नेपाल स्टक एक्सचेजमा सूचीकृत उत्पादन तथा प्रशोधन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ), महाप्रबन्धक तथा कार्यकारी निर्देशकहरूले कति तलब खान्छन् भन्ने विषयको चर्चा गरेका छौं ।
बोटलर्स नेपालका एमडीको तलब ८ करोड बढी
बोटलर्स नेपालले प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ गुणलनलाई आर्थिक वर्ष २०८०/८१ मा ८ करोड ८ लाख ५५ हजार रुपैयाँ पारिश्रमिक, भत्ता र सुविधा प्रदान गरेको छ । कम्पनीले पारिश्रमिकवापत २ करोड ७५ लाख १४ हजार रुपैयाँ, भत्तावापत ४ करोड ६९ लाख २ हजार रुपैयाँ र सुविधावापत ६४ लाख ३७ हजार रुपैयाँ प्रदान गरेको हो ।
साथै कम्पनीले प्रमुख प्रबन्धकहरूलाई १७ करोड ३२ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा पारिश्रमिकवापत ५ करोड ८५ लाख २५ हजार रुपैयाँ, भत्तावापत १० करोड ८१ लाख २० हजार रुपैयाँ र सुविधावापत ६५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
यस कम्पनीले आव २०८०/८१ मा सञ्चालकहरूलाई ९ लाख ६० हजार रुपैयाँ भत्तावापत भुक्तानी गरेको छ । आव २०७९/८० मा भने ७ लाख ६५ हजार रुपैयाँ बैठक भत्ता भुक्तानी गरेको थियो ।
यूनिलिभरका एमडीको तलब पौने ६ करोड
पुँजी बजारको हटकेक सेयर हो यूनिलिभर नेपाल । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ५६ हजार ८०५ रुपैयाँसम्म पुगेको थियो । कम्पनीको सेयर मूल्य उच्च हुनुको कारण प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्नु हो ।
कम्पनीले प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्दै आएको छ । सेयरधनीलाई मख्ख बनाउँदै आएको यस कम्पनीले आफ्ना सञ्चालक तथा कर्मचारीलाई पनि मख्ख बनाएको देखिन्छ । किनभने कम्पनीले गत आव २०८०/८१ मा आफ्ना कर्मचारी र सञ्चालकहरूलाई लाखौं रुपैयाँ तलबभत्तामा भुक्तानी गरेको देखिन्छ ।
गत वर्ष कम्पनीले सञ्चालकहरूलाई २ लाख ९७ हजार रुपैयाँ बैठक भत्ता बापत भुक्तानी गरेको छ । यस्तै, प्रमु कार्यकारी अभिकृत तथा प्रबन्ध सञ्चालक (एमडी)लाई ५ करोड ८६ लाख ९३ हजार रुपैयाँ तलब भत्तावापत भुक्तानी गरेको कम्पनीले जनाएको छ । यस कम्पनीको एमडी अम्लान मुखर्जी हुन् ।
अघिल्लो वर्ष कम्पनीले सञ्चालकलाई ३ लाख २४ हजार रुपैयाँ र प्रबन्ध सञ्चालकलाई ४ करोड ८१ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।
साथै, कम्पनीले अन्य पदाधिकारी तथा कर्मचारीलाई गत वर्ष २६ करोड ६२ लाख ९६ हजार रुपैयाँ तलबभत्ता बापत भुक्तानी गरेको छ । कम्पनीका अनुसार २२२ जना अन्य पदाधिकारी तथा कर्मचारी रहेका छन् । चालक सहितको साधन, इन्धन तथा ईन्जिन मर्मत खर्चहरु प्रबन्ध सञ्चालक, आपूर्ति प्रमुख, वित्तीय प्रमुख र बिक्री प्रमुखलाई दिएको कम्पनीको भनाइ छ ।
नेपाल ल्यूव आयलका महाप्रबन्धकको तलब ६६ लाख
नेपाल ल्यूव आयलले आव २०८०/८१ मा अध्यक्ष एवं प्रवन्ध सञ्चालक, सञ्चालक एवं पदाधिकारी र वरिष्ठ कर्मचारी (उप-प्रबन्धक सम्मको) लाई २ करोड ९४ लाख ८४ हजार ६३४ रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीले सञ्चालकहरूलाई २३ लाख ७६ हजार ५२९ रुपैयाँ, महाप्रबन्धकलाई ६६ लाख २७ हजार १६० रुपैयाँ र प्रमुख प्रबन्धकहरूलाई २ करोड १८ लाख ५७ हजार ४७३ रुपैयाँ भुक्तानी गरेको छ । यस कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराई हुन् । तर, सो कम्पनीको कार्यकारी निर्देशकको काम भने करन चौधरीले गर्दै आएका छन् ।
आव २०७९/८० मा कम्पनीले सञ्चालकहरूलाई २० लाख ९४ हजार १७६ रुपैयाँ, महाप्रबन्धकलाई ५२ लाख ६० हजार ८२३ रुपैयाँ र प्रमुख प्रबन्धकहरूलाई १ करोड ७७ लाख ८८ हजार ७०५ रुपैयाँ भुक्तानी गरेको थियो ।
हिमालयन डिस्टिलरी
हिमालयन डिस्टिलरीले गत वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ७२ लाख २५ हजार ७९९ रुपैयाँ पारिश्रमिक, भत्ता, तथा सुविधा बापत भुक्तानी गरेको छ । यस कम्पनीको सीईओको रूपमा निरज सुवेदीले काम गर्दै आएका छन् ।
कम्पनीले अन्य पदाधिकारी (प्रबन्धक तहदेखि माथि)का कर्मचारीलाई ३ करोड ३२ लाख ५५ हजार ९२७ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले अध्यक्ष र सञ्चालक समिति सदस्यलाई १५ लाख १५ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ ।
शिवम् सिमेन्ट
शिवम् सिमेन्टले आव २०८०/८१ मा प्रबन्ध सञ्चालकलाई ६९ लाख ७ हजार ७९६ रुपैयाँ तलब, भत्ता तथा सुविधा र ९ लाख २२ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । यस कम्पनीको कार्यकारी निर्देशक लिउ शुगजान हुन् ।
आर्थिक वर्ष २०७९/८० मा कम्पनीले प्रबन्ध सञ्चालकलाई ७५ लाख ३६ हजार ७६० रुपैयाँ तलब, भत्ता तथा सुविधा र ११ लाख ६ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । साथै सो वर्ष कम्पनीले व्यवस्थापन समूहलाई ४ करोड ६४ लाख ९३ हजार ५८५ रुपैयाँ तलब भत्तावापत भुक्तानी गरेको थियो ।
घोराही सिमेन्ट
घोराही सिमेन्टले आर्थिक वर्ष २०८०/८१ मा व्यवस्थापन प्रमुख देवेन्द्र सिन्हालाई ५१ लाख रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । यस्तै, वित्त तथा लेखा प्रमुख शंकर लाल अगिवाललाई ६२ लाख ८४ हजार ५० रुपैयाँ भुक्तानी गरेको छ ।
आव २०७९/८० मा कम्पनीले सिन्हालाई ५१ लाख रुपैयाँ र अगिवाललाई ६२ लाख ६२ हजार ४५४ रुपैयाँ भुक्तानी गरेको थियो ।
सोनापुर मिनिरल्स
सोनापुर मिनिरल्स एण्ड आयलले आव २०८०/८१ मा कम्पनीका प्रबन्ध सञ्चालक निपेश तायललाई ७६ लाख ४७ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बापत भुक्तानी गरेको छ । यस्तै, ३० हजार रुपैयाँ बैठक भत्ता बापत भुक्तानी गरेको छ ।
यस्तै, महाप्रबन्धक भीमप्रसाद पाठकलाई ४८ लाख ७२ हजार ८६५ रुपैयाँ भुक्तानी गरेको छ । अन्य सञ्चालकहरूलाई बैठक भत्ता बापत १ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
आव २०७९/८० मा कम्पनीले सञ्चालक, प्रबन्ध सञ्चालक तथा पदाधिकारीहरुलाई १ करोड २५ लाख १९ हजार ८६५ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधाबापत भुक्तानी गरेको थियो ।
सर्वाेत्तम सिमेन्ट
सर्वाेत्तम सिमेन्टले सञ्चालक समूहलाई ५५ लाख ८७ हजार १८८ रुपैयाँ भुक्तानी गरेको छ । साथै व्यवस्थापन समूहलाई १ करोड ५६ लाख ७२ हजार ९७३ रुपैयाँ भुक्तानी गरेको छ । यस कम्पनीका सीईओ सन्तोष केसी हुन् ।
आव २०७९/८० मा कम्पनीले सञ्चालक समूहलाई ५५ लाख ८७ हजार १८८ रुपैयाँ र व्यवस्थापन समूहलाई २ लाख ६८ हजार ९३ लाख ३७२ रुपैयाँ भुक्तानी गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.