१.१६ करोड लिएर बाहिरिए सीईओ कार्की, कामु सीईओमा निरन्जन फुयाल

  २०८१ माघ २८ गते १९:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की बाहिरिएका छन् । २०७८ माघ २० गते सीईओमा नियुक्त भएका कार्की कार्यकाल सकिएपछि माघ २५ गते नेप्सेबाट बाहिरिएका हुन् ।

सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएका नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि बाँकी अवधिका लागि कार्की नियुक्त भएका थिए ।

तीन वर्षको अवधिमा सीईओ पदमा काम गरेबापत कार्की नेप्सेबाट १ करोड भन्दा बढी भुक्तानी बुझेका छन् । कार्कीले चालु आर्थिक वर्ष २०८१/८२ मा लिएको भुक्तानी सार्वजनिक भएको छैन । तर, त्यसअघि उनी सीईओ पदमा बहाल रहँदा नेप्सेले १ करोड १६ लाख ३१ हजार रुपैयाँ तलब तथा भत्ता बुझेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा कार्कीले तलब बापत ३१ लाख ४२ हजार ८०८ रुपैयाँ बुझेका थिए । जसमा उनले अल्पकालिन कर्मचारी लाभ वापत १० लाख ८० हजार २६२ रुपैयाँ, रोजगारी पछीको लाभ वापत ९० हजार रुपैयाँ, अन्य दीर्घकालिन लाभ तथा सुविधा वापत १६ लाख १२ हजार ५४६ रुपैयाँ र बैठक भत्ता तथा अन्य सुविधाहरु ३ लाख ५८ हजार रुपैयाँ बुझेको नेप्सेको तथ्याङ्क छ । साथै सञ्चालक समिति बैठकको भत्ता बापत उनले १० लाख ७१ हजार रुपैयाँ बुझेका थिए ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा कार्कीले ३१ लाख १० हजार १२५ रुपैयाँ तलब सुविधा बापत बुझेका थिए । जसमा अल्पकालिन कर्मचारी लाभ वापत २३ लाख ६१ हजार १२५ रुपैयाँ, अन्य दीर्घकालिन लाभ तथा सुविधा वापत १ लाख ८० हजार रुपैयाँ र बैठक भत्ता तथा अन्य सुविधाहरु ५ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरिएको नेप्सेले जनाएको छ । साथै सञ्चालक समिति बैठकमा सहभागी भए बापत उनले ५ लाख ६९ हजार रुपैयाँ समेत यस वर्ष बुझेका थिए ।

नेप्सेका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा भने कार्कीले ३३ लाख ६ हजार ८९९ रुपैयाँ बुझेका छन् । जसमा उनले अल्पकालिन कर्मचारी लाभ वापत २४ लाख २० हजार २७४ रुपैयाँ, अन्य दीर्घकालिन लाभ तथा सुविधा वापत १ लाख ८० हजार रुपैयाँ र बैठक भत्ता तथा अन्य सुविधाहरु ७ लाख ६ हजार ६२५ रुपैयाँ भुक्तानी गरिएको नेप्सेको तथ्याङ्क छ ।साथै सञ्चालक समिति बैठकमा सहभागी भए बापत उनले ४ लाख ३१ हजार २५० रुपैयाँ रुपैयाँ समेत गत वर्ष बुझेका थिए ।

कार्की बाहिरिएपछि सञ्चालक समिति बैठकले कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । प्रबन्धक पदमा कार्यरत फुयाललाई माघ २५ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।