वनारसी धामको ऐतिहासिक महत्वका बारेमा पुरातत्वको चासो, सडक नहुँदा बिच बाटोबाट फर्किँदै भक्तजन

  २०८१ माघ २७ गते १६:२९     विकासन्युज

काठमाडौं । बैतडीको पाटन नगरपालिका-३ स्थित प्रसिद्ध वनारसी धामको ऐतिहासिक र पौराणिक महत्वका बारेमा पुरातत्व विभागले चासो देखाएको छ । शुक्रबार जात्रा सम्पन्न भएको वनारसी धाममा शनिबार पुरातत्व विभागका अधिकृत राजेश परियारले अवलोकन गरेका हुन् ।

वनारसी धाममा पुगेर सांस्कृतिक र ऐतिहासिक विशेषताका बारेमा जानकारी लिएको बताइएको छ । वनारसी धाममा अमूर्त संस्कृति रहेको र यसलाई संरक्षण गर्नु आवश्यक रहेको श्री वनारसी धाम विश्वनाथ ज्योर्तिलिङ्गका कोषाध्यक्ष एवम् धार्मीक प्रवक्ता मठाधिश समेत रहेका गणेश प्रसाद पन्तले बताए ।

पञ्चाङ्गकार पन्तका अनुसार वनारसी धामको ऐतिहासिक र सांस्कृतिक महत्वका बिषयमा पाटन नगरपालिका-३ का वडा अध्यक्ष करुणाकर भट्ट लगायतका सरोकारवाला व्यक्तिहरुसँग छलफल गरिएको पन्तको भनाइ छ । उनका अनुसार सामाजिक सदभाव र विभेद अन्त्यका लागि वनारसी धामको संस्कृति निकै महत्वपूर्ण रहेको छ ।

साथै उक्त क्षेत्रको संरक्षण सम्वर्द्धन वृहत विकासको लागि गरिएको डीपीआरले १८ करोड ४७ लाख ७५१ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । तर, सरकारले चासो नदिँदा कार्यान्वयमा समस्या देखिएको पञ्चाङ्गकार पन्तले गुनासो गरे ।

परापूर्वकालदेखि दलित समुदायका मानिस मुख्य पूजारी रहेको यस मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । १२औं शताब्दीदेखि यो मन्दिरमा जात्रा लाग्ने गरेको र यसमा सबैको सहभागिता हुने गरेको पन्तको भनाइ छ । यसको महिमाको बारेमा सबैलाई जानकारी गराउन आफूले पहल गरिरहेको उनले बताए ।

‘यस क्षेत्रमा आउने धार्मीक पर्यटकका लागि सौचालयको समेत व्यवस्था छैन, हवनकुण्ड, आवाश, आश्रमको पनि अभाव छ, व्यवस्थित सडक नहुँदा अधिकांश भक्तजन बिच बाटोबाट फर्किने गरेका छन्,’ उनले भने, ‘यस क्षेत्रमा सरकारले चासो दिएर संरक्षणसँगै विकासमा टेवा पुर्याउनुपर्छ ।’

तत्कालीन राजा मानूक चन्दका पालामा राजगुरु बिरभद्र बसी पन्त मूल मुखिया भट्ट, बिष्ट, अवस्थी आदी सम्पूर्ण स्थानीयबाट छलफल गराई तत्कालीन राजसभा परिषदबाट तत्कालीन राजा मानूक चन्दले विभेदमुक्त सार्वजनिक पूजास्थल घोषणा गरे । र बयनी लुहारलाई पुजारी नियुक्त गरे ।