२०८१ माघ २७ गते १५:०५ नरेन्द्र विष्ट
काठमाडौं । काठमाडौंका प्रवेश कुँवर करेन्ट चाउचाउका पारखी हुन् । उनले हप्तामा कम्तीमा पनि तीन दिन करेन्ट चाउचाउ खान्छन् । विशेषगरी उनको दिउँसोको खाजा नै करेन्ट चाउचाउ बनेको छ ।
पहिला एकैखाले चाउचाउ खाने प्रवेशको अहिले स्वाद फेरिएको छ । हाल उनी नेपालमै उत्पादन भएको पिरो चाउचाउ खान रुचाउँछन् । करेन्ट मसालेदार र पिरो चाउचाउ हो ।
प्रवेश भन्छन्, ‘स्वाद नै क्या मज्जा छ, मलाई हट एन्ड स्पाइसी खानेकुरा भनेपछि खुबै मनपर्छ, त्यसैले करेन्ट बेला–बेला खाऊँ–खाऊँ लागिरहन्छ ।’
यशोदा फुड्स हाल नेपाली बजारमा निकै प्रख्यात नाम हो । जसले देशभित्रै उपलब्ध पदार्थको प्रयोग गरी करेन्ट चाउचाउ उत्पादन गरिरहेको छ ।
यतिमात्रै हैन, यशोदा फुड्सले देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल पनि भएको छ । विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा समेत ठूलो सहयोग गरिरहेको छ ।
रुपन्देहीका ६ उद्योगीहरू चुन्नु पौडेल, मधु घिमिरे, कमल मालपानी, नरिश्वर पौडेल, ऋषिराम भण्डारी र श्रवण बेरिवालले चलाएको कम्पनीको मुख्य कार्यालय तिलोत्तमा नगरपालिकाको पत्थरडाँडामा छ ।
छोटो समयमै चर्चामा
यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेल हुन् । सन् २०१७ देखि चाउचाउको उत्पादन थालेको कम्पनीले छोटो अवधिमा नै बजारमा तहल्का पिटिरहेको छ । चाउचाउ बजारमा ‘हट एण्ड स्पाइसी’ को आफ्नो छुट्टै पहिचान बनाएको करेन्टले पछिल्लो समय नेपाली बजारमा मात्र हैन, अन्तर्राष्ट्रिय बजारमा समेत छल्याङ मारिरहेको छ ।
केही समयअघिसम्म पिरो र मसलादार स्वादका स्वदेशी चाउचाउ नहुँदा केही कोरियन र जापानी नुडल्सहरूले नेपालको बजार लिइरहेको थियो । तर, कम्पनीले सोही बजारलाई बुझेर स्वदेशमा नै सर्वसुलभ मूल्यमा स्वादिलो र पिरो चाउचाउ उत्पादन थालेपछि आयातित चाउचाउ विस्तापित भएका छन् ।
कारखाना थप्दै
आफ्नो उत्पादनको माग र लोकप्रिय बढ्दै गएपछि एशोदा फुड्सले थप कारखाना थप्दैछ । हाल बुटवल र कपिलवस्तुमा चन्द्रोटामा कम्पनीले कारखाना बनाउँदैछ ।
६ वर्षअघि ‘लाली’ चाउचाउबाट उत्पादन थालेको यशोदा फूड्सले सँगै भुजिया, चिजबल्स, कुरकुरे पनि उत्पादन गर्न थाल्यो । वाईवाई, रमपम, प्रीति जस्ता तयारी चाउचाउको दबदबा रहेको अवस्थामा आफ्नो पहिचान बनाउन निकै मिहिनेत गरेको कम्पनीले पछिल्लो समय विभिन्न स्वाद र प्याकेटमा करेन्ट चाउचाउ उत्पादन गर्दै आइरहेको छ ।
करेन्टको बेग्लै स्वाद, हट एण्ड स्पाइसी र मसलेदार चाउचाउ भएकाले नै बजारमा स्थापित बन्न सफल भएको कम्पनीका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए ।
चुन्नप्रसाद पौडेल ।
‘करेन्टको बेग्लै स्वाद, हट एण्ड स्पाइसी र मसलेदार चाउचाउ भएकाले नै बजारमा स्थापित बन्न सफल भएका हौं,’ उनले भने, ‘स्वदेशी बजारमा मात्र होइन, आज विश्वका करिब दुई दर्जन मुलुकमा करेन्टको उच्च माग छ ।’
दैनिक १८ हजार प्याकेट उत्पादन
कम्पनीका अनुसार हाल दैनिक २० टन अर्थात् १८ हजार प्याकेट करेन्ट चाउचाउ उत्पादन हुन्छ । तर, बजारको माग बढ्दा पछिल्लो समय यो उत्पादनले बजारको माग धान्न हम्मेहम्मे परिरहेको छ । कम्पनीले छिट्टै थप उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने योजना बनाएको छ ।
हाल कम्पनीले वार्षिक ३० हजार नौ सय मेट्रिक टन करिब ३१ करोड प्याकेट करेन्ट चाउचाउको उत्पादन तथा निर्यात गरिरहेको छ ।
कम्पनीले भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, भुटान, कोरिया, जापान, नेदरल्याण्ड, मलेसिया, दुबई पाकिस्तानलगायत विश्वका १५ देशहरुमा करेन्ट चाउचाउको निर्यात गर्दै आएको छ । ८० करोड रुपैयाँ बढीको चाउचाउ विदेश निर्यात भएको छ ।
कम्पनीका अनुसार गत बर्ष ५ अर्ब रुपैयाँको कारोबार गरेको थियो । एशोदा फुड्सले २०२१ मा २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ बराबरको चाउचाउको व्यापार गरेको थियो । यसैगरी, २०२२ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२३ मा कम्पनीले ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भयो ।
यसरी करेन्टको बजार आक्रामक रूपमा बढ्दै गर्दा चार दशकदेखि यही बजारमा एकछत्र राज गर्दैआएको वाइवाइमाथि चुनौती बढेको छ । व्यापारको बजार हिस्सा अब करेन्टले थप खोस्ने स्थिति बनेको छ ।
२ हजारभन्दा बढीलाई रोजगारी
कम्पनीले देशभर प्रत्यक्ष्य रूपमा २ हजारभन्दा बढी मानिसलाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा ५ हजारलाई रोजगारी दिएको छ । सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामग्रीको बजारमा प्रव्रेश गरेको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि ७ जिल्लाका करिब १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानीलगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ ।
करेन्टले देशभित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँग विदेशी आयतित चाउचाउ पनि घटेको छ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यातमार्फत् केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफूजस्तै अन्य स्वदेशी उत्पादकहरूलाई पनि प्रोत्साहन गरिरेहको छ ।
लामो अनुसन्धानपछि नेपालमै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’को उत्पादन सुरु गरेको हो । उत्पादनको ८ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ ।
विदेशमा पनि करेन्ट चाउचाउको मनग्य माग रहेको उत्पादक कम्पनी बताउँछ । यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर (१ अर्ब ३९ करोड रुपैयाँ) बराबरको निर्यात हुन्छ ।
नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा, धनगढी, सुर्खेतजस्ता मुख्य सहरमा बढी बिक्री हुन्छ ।
नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । कम्पनीकै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरिसकेका छन् ।
यशोदा फूड्सले गुल्मी, अर्घाखाँची, स्याङ्जा, भोजपुर, इलाम, मकवानपुर, काभ्रे लगायत जिल्लाबाट पनि खुर्सानी खरीद गर्ने गर्दछ । चाउचाउमा प्रयोग हुँदै आएको ८० प्रतिशतजति कच्चा पदार्थ स्वदेशी नै रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार मैदा, मटर, प्याजलगायत कच्चा पदार्थ स्वदेशकै खपत हुन्छ । आयात गरिने २० प्रतिशतमा तेल तथा अन्य मरमसला पर्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.