२०८१ माघ २७ गते १०:३६ विकासन्युज
काठमाडौं । यो वर्ष लाभांश घोषणा गर्ने पहिलो कम्पनी हो सुपरमाई हाइड्रोपावर । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरेको यस कम्पनीको गत भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशतका दरले ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.६३ प्रतिशतका दरले २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । मंसिर २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्यो । तर, घोषणा भएको ६ महिना हुँदासम्म पनि सेयरधनीहरूले लाभांश पाएका छैनन् ।
यस्तै, एभरेष्ट बैंकको भदौ २९ गते बसेको सञ्चालक समिति बैठकले १५.५३ प्रतिशत लाभांश प्रस्ताव गर्यो । बैंकले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गर्यो । असोज २० गते सम्पन्न ३०औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्यो । झण्डै ३ महिनापछि गत मंसिर ४ गते मात्रै बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भयो ।
यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्टको गत भदौ २२ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश प्रस्ताव गर्यो । असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्यो । ३ महिनापछि मात्रै कम्पनीको बोनस सेयर गत मंसिर २७ गते नेप्सेमा सूचीकृत भयो ।
यी माथिका केही उदाहरणमात्रै हुन् । लाभांश पारित भएको लामो समयसम्म पनि पुँजी बजारमा सम्बन्धित कम्पनीहरूको बोनस सेयर सूचीकृत नहुँदा सेयरधनीहरू मर्कामा परेका छन् । यसवर्ष ६५ कम्पनीले सेयरधनीहरूलाई बोनस सेयर प्रस्ताव गरेका छन् । तर, १७ वटा कम्पनीको मात्रै बोनस सेयर नेप्सेमा सूचीकृत भएको देखिन्छ ।
लगानीकर्ता राजु पौडेल लामो समयसम्म पनि बोनस सेयर नेप्सेमा सूचीकृत नहुँदा लगानीकर्ताहरू मर्कामा परेको बताउँछन् । उनका अनुसार कुनै कम्पनीको बोनस सेयर सूचीकरणमा वर्षाैं समय लागेका छ । निश्चित अवधिभित्र बोनस सेयर सूचीकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था गर्न उनले माग गरे ।
‘कुनै कम्पनीको छिटो हुन्छ, कुनै कम्पनीको ढिलो सूचीकरण हुन्छ । कुनै कम्पनीको त एक वर्षसम्म पनि बोनस सूचीकरण हुँदैन । बजार बढेको समयमा बोनस सेयर आयो भने बेच्न पाउँथ्यो । लगानीकर्ताले त्यो अवसर गुमाइरहेका छन् । बोनस सेयर आउँदा बजार धेरै उतारचढाव भइसकेको हुन्छ । सेयर बजार माथि भएको बेला बोनस बिक्री गर्न नि मिल्दैन,’ पौडेलले भने, ‘त्यसैले बोनस सूचीकृतमा पनि एकरूपता ल्याउनुपर्छ । निश्चित समयभित्र बोनस सेयर सूचीकृत गरिसक्नुपर्ने व्यवस्था हुनुपर्छ ।’
वार्षिक साधारण सभा सम्पन्न भएको निश्चित अवधिभित्र बोनस सूचीकरण गरिसक्नुपर्ने गरी कानुनी व्यवस्था मिलाउन पौडेलले सरोकारवाला पक्षसँग माग गरे ।
नेप्सेका सहायक महाप्रबन्धक निरञ्जन फुयाल नेप्सेमा आवेदन दिएको ७ दिनभित्र सूचीकरण गर्ने गरेको बताउँछन् । कम्पनीले निर्णय गरेको वा साधारण सभाले पारित गरेको यति समयभित्र बोनस सूचीकरण गरिसक्नुपर्ने भनेर कुनै व्यवस्था नरहेको उनको भनाइ छ ।
‘बोनस सूचीकरणका लागि नेप्सेमा आवेदन दिएको ७ दिनभित्र जवाफ दिनुपर्छ । कम्पनीले निर्णय गरेको वा साधारण सभाले पारित गरेको निश्चित अवधिभित्र बोनस सूचीकरण गर्नुपर्छ भनेर कुनै व्यवस्था छैन । साधारण सभाले पारित गरेपछि कहिले कम्पनी रजिष्ट्रारको कार्यालय, कहिले कुनै नियामकको स्वीकृति चाहिन्छ । यो चक्करमा जाँदा बोनस सूचीकरणमा ढिलाइ हुने गरेको देखिन्छ, नियामकले कुनै मुद्दामा घुमाउने गरेको छ,’ उनले भने ।
उनका अनुसार साधारण सभाले बोनस पारित गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा दर्ता गर्नुपर्छ । त्यसपछि नेप्सेमा सूचीकरण गरेर मात्रै सीडीएस एण्ड क्लियरिङले खातामा जम्मा गर्ने गरेको उनले बताए ।
‘सेबोनले दर्ता भएको जानकारी गराएपछि मात्रै नेप्सेमा कारोबारयोग्य हुन्छ, ऐनमा नै उल्लेख भएकाले २०६३ सालदेखि सेबोनमा दर्ता नभई कुनै पनि सेयर नेप्सेमा आउँदैन,’ उनले भने, ‘सेबोनमा गएको कुनै कम्पनी ५/७ दिन र कुनै कम्पनीले ५/७ महिना समय लगाएको देखिन्छ, कहाँ, के, कसरी अड्किन्छ ? प्राविधिक विषय थाहा हुँदैन ।’
उनका अनुसार बोनस सेयर सूचीकरणमा सम्बन्धित कम्पनी जिम्मेवार हुनुपर्छ ।
कम्पनी ऐन, २०६३ को दफा १८२ मा लाभांश दिने निर्णय भएको ४५ दिनभित्र सेयरधनीहरूलाई लाभांश वितरण गरिसक्नु पर्ने व्यवस्था छ । साथै सोही दफाको उपदफा ३ मा यदि ४५ दिनभित्र लाभांश वितरण नगरेमा तोकिए बमोजिमको ब्याज थप गरी लाभांश वितरण गर्नुपर्नेछ ।
चालु आव ०८१/८२ को साउन १ गतेदेखि हालसम्म ३२ कम्पनीको बोनस सेयर सेयर बजारमा सूचीकृत भएको छ । नेप्सेका अनुसार ३२ वटा कम्पनीको ७ अर्ब ६० करोड ७६ लाख रुपैयाँ बराबरको ७ करोड ६० लाख ७६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।
चालु आवमा बोनस सूचीकृत भएका कम्पनीहरूमा केही कम्पनीले गत वर्ष लाभांश घोषणा गरेका हुन् । नेप्सेका अनुसार नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बापत १६ लाख ६० हजार ८६८ कित्ता, रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बापत ७ लाख ३९ हजार ९८५ कित्ता, ओरियन्टल होटल्सको ५ प्रतिशत बापत ५ लाख ६४ हजार ४५ कित्ता, सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशतबापत ५ लाख ३२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
यस्तै, साहस ऊर्जाको ८ प्रतिशत बोनसबापत २८ लाख कित्ता, सानिमा रिलायन्स लाइफको १८.३८ प्रतिशत बापतको ७६ लाख ९० हजार ६५२ कित्ता, सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत १० लाख ५० हजार कित्ता, सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापत ५६ लाख ८० हजार ३८९ कित्ता, हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस बापतको २५ लाख ७४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यस्तै, आशा लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत ९ लाख १४ हजार ३०२ कित्ता, भगवती हाइड्रोपावर डेभलपमेन्टको ४ प्रतिशत बोनस बापत २ लाख २८ हजार ८२६ कित्ता, प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत बोनस बापत ४२ लाख ९६ हजार कित्ता, स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २० लाख ६६ हजार २५० कित्ता, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३ प्रतिशत बोनस बापत ११ लाख २० हजार ७७८ कित्ता, गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत १ लाख ४४ हजार ४९५ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनस बापत १० लाख २४ हजार ९१९ कित्ता, अपि पावर कम्पनीको ५ प्रतिशत बोनस बापत २८ लाख ९३ हजार २९८ कित्ता, कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनस बापत २२ लाख ९६ हजार ९१५ कित्ता, एभरेष्ट बैंकको १० प्रतिशत बोनस बापत १ करोड १७ लाख ६७ हजार ९०३ कित्ता, नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस बापत १ लाख २२ हजार ४० कित्ता सेयर सूचीकृत भएको छ ।
यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापत २ लाख ५० हजार कित्ता, समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २८ हजार ५ सय कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस बापत २० लाख ४ हजार ६६६ कित्ता, सुर्याेदय वोमी लघुवित्तको १४ प्रतिशत बोनस बापत १२ लाख ८२ हजार १०८ कित्ता, ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस बापत १ लाख ९७ हजार २२० कित्ता, नागरिक लगानी कोषको १४ प्रतिशत बोनस बापत ७४ लाख ३९ हजार २५० कित्ता, नेपाल रिइन्स्योरेन्सको ४.७५ प्रतिशत बोनसबापत ६० लाख ८६ हजार ४३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनसबापत ९ लाख २३ हजार ३५१ कित्ता, मैलुङ खोला जलविद्युत कम्पनीको २.२२ प्रतिशत बोनस बापत ८१ हजार ७६८ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस बापतको ७६ लाख १६ हजार कित्ता, आइएमई लाइफको इन्स्योरेन्सको २५ प्रतिशत बोनस बापत १ करोड कित्ता, प्रुभ इन्स्योरेन्सको ४.७५ प्रतिशत बापत ६ लाख ५३ हजार ६५८ कित्ता नेप्सेको तथ्याङ्कमा उल्लेख छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.