पफर्मेन्स कमजोर भन्दै पदमुक्त, ‘केही महिनाभित्रै मर्जर’

  २०८१ माघ २४ गते १५:०४     विकासन्युज

काठमाडौं । पर्फमेन्स कमजोर भएपछि पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङ पदमुक्त भएका छन् । सीईओ गुर’ङले गरेको काम चित्त नबुझेपछि माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पदमुक्त गरेको हो ।

पछिल्लो समय कम्पनीले प्रवाह गरेको कर्जा असुली नभएपछि खराब कर्जा (एनपीएल) उच्च हुन पुगेको छ । गत पुससम्म कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत पुगेको छ । एनपीएल उच्च भएपछि नेपाल राष्ट्र बैंकले खराब कर्जा असुलीमा दबाब दिँदै आएको छ । तर, सीईओ गुरुङको पफर्मेन्समा खासै सुधार नभएपछि पदमुक्त गरिएको स्रोतले बतायो ।

‘एनपीएल धेरै भएपछि राष्ट्र बैंकले दबाब दिन थाल्यो । कर्जा समयमा असुल भएको भए समस्या हुँदैनथ्यो । राष्ट्र बैंकले आफ्नो निर्देशिका अनुसार गर्न लगाउँछ, गरेन भने कारवाही गर्छु भन्न थाल्यो,’ फाइनान्स स्रोतले भन्यो, ‘सीईओको पफर्मेन्स राम्रो देखिएन । त्यसपछि सञ्चालक समितिले कारवाही स्वरूप पदमुक्त गरेको हो ।’

पछिल्लो समय कम्पनीको वित्तीय अवस्था कमजोर अवस्थामा पुगेपछि मर्जर तथा एक्विजिशनका विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल गरिरहेको छ । चालु आर्थिक वर्षभित्रै मर्जर गर्ने गरी सञ्चालक तीलबहादुर गुरुङको संयोजकत्जमा मर्जर कमिटी गठन गरिएको छ । उक्त कमिटीमा सञ्चालक प्रतीक गुरुङ सदस्य रहेका छन् ।

‘चालु आर्थिक वर्षभित्रै मर्ज गर्ने प्रबल सम्भावना छ । मर्जर कमिटीले प्रयास गरिरहेको छ । मर्जर कमिटी जति सक्रिय भयो त्यति नै छिटो मर्ज हुन्छ,’ फाइनान्सका एक उच्च अधिकारीले भने, ‘मर्जर कमिटीले आन्तरिक रूपमा छलफल गरिरहेका छ । विभिन्न बैंकसँग छलफल भइरहेको छ ।’

सीईओ गुरुङ पदमुक्त भएपछि नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राजुमोहन भट्टराईलाई फाइनान्सको कायम मुकायम कार्यकारी प्रमुख (कामु सीईओ)को जिम्मेवारी दिइएको कम्पनी सचिव निर्मलकुमार कार्कीले बताए ।

गत पुस मसान्तसम्म फाइनान्सको खुद नाफा ६५ करोड ३१ हजार रुपैयाँ ऋणात्मक छ । १ अर्ब ८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोष १ अर्ब ५ करोड ३७ लाख रुपैयाँ छ । सञ्चित नाफा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ ऋणात्मक छ ।

गत पुस मसान्तसम्ममा फाइनान्सले १० अर्ब ५५ करोड ९१ लाख रुपैयाँ निक्षेप संलकन गरी ६ अर्ब ४० करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पोखरा फाइनान्समा समस्या, स्पष्टिकरण लिने राष्ट्र बैंकको निर्णय