२०८१ माघ २३ गते ७:४९ विकासन्युज
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आशा लघुवित्त र साना किसान लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीमा राखिएको छ । तीन वटै लघुवित्तका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेर बाहिरिन लागेका हुन् ।
यी तीन वटा लघुवित्तका संस्थापक सेयरधनीहरूले २७ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको देखिन्छ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)ले आफ्नो स्वामित्वमा रहेको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
लघुवित्तको उक्त सेयर मूल्य ५३१ रुपैयाँ तोकिएको छ । यस आधारमा फरवार्डले लघुवित्तको १९ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो ।
लघुवित्तको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ । कम्तिमा १ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ ।
यस्तै, आशा लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख ५९ हजार ७२३ कित्ता सेयर बिक्रीमा राखेका छ । लघुवित्तको सेयरमा सर्वसाधारण जोकोही लगानीकर्ताले पनि आवेदन दिन पाउनेछन् ।
खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको उक्त सेयरको मूल्य ३ सय रुपैयाँ तोकिएको छ । यस आधारमा लघुवित्तको ७ करोड ७९ लाख १६ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।
यस्तै, साना किसान लघुवित्तको संस्थापक सेयरधनी साना किसान कृषि सहकारी संस्था घैलाडुबा झापाले आफ्नो स्वामित्वको २० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । उक्त मूल्यका आधारमा लघुवित्तको ६० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको देखिन्छ । खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.