२०८१ माघ १८ गते ७:४० विकासन्युज
काठमाडौं । आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
आजको बैठकमा ६ वटा अध्यादेश समेत पेश हुने कार्यसूची छ । प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.