नेक्सजेन म्यानेजमेन्टले फागनु १ गतेदेखि कर्जा प्रवाहपछि व्यवस्थापकीय परामर्श सेवा दिने

  २०८१ माघ १६ गते १३:०५     विकासन्युज

काठमाडौं । नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने भएको छ । कम्पनी संचालक समितिको बैठकले फागुन १ गतेदेखि बैंक तथा वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने भएको हो ।

बैंकिङ क्षेत्रमा खराब कर्जा बढदै छ । कर्जा प्रवाह पछि ऋणीले कर्जा रकम उचित प्रयोग गर्न नजान्दा चाहेर नचाहेर पनि समस्यामा पर्दै गईरहेका छन । ऋणीसँग उद्योग व्यवसाय संचालनको उचित ज्ञान नहुने र कर्जा प्रवाहपछि बैंकले नियमित परामर्श पनि नदिने भएकोले कर्जाहरू क्रमशः खराब कर्जा बढ्न पुगेको कम्पनीका प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार खराब कर्जाको अवस्थालाई समयमै संबोधन नगर्ने हो भने संकट आउन सक्नेछ । बैंकहरूले प्रवाह गरेको कर्जा असुल नहुने र ब्याजदर न्यून बिन्दुमा पनि नयाँ कर्जा नजाने स्थितिले आर्थिक अवस्था भयावह हुने संकेत गरेको उनले बताए । त्यसैले समयमा समस्या समाधानका लागि विशेषज्ञ सेवा लिन आवश्यक रहेको उनको भनाइ छ ।

नेक्सजेन म्यानेजमेन्ट बैंकका पूर्वकार्यकारी प्रमुखहरूको संस्था हो । यो कम्पनीले सम्पत्ती व्यवस्थापन र व्यवसायिक परामर्शको कार्य गर्दै आईरहेको छ । नेक्सजेनका विशेषज्ञहरूले कर्जा प्रवाहपछि न्यूनतम शुल्कमा परमर्श सेवा दिई कर्जालाई खराब हुनबाट रोक्ने प्रयास गर्नेछ । यस अन्तर्गत उद्योग व्यवसायले लिने कर्जा र बिक्री रकमको उचित प्रयोग, लेखाप्रणालि र करको व्यवस्थापन, कस्टुमर रिलेशनसिप तथा बजार व्यवस्थापनमा परामर्श दिनेछन ।

त्यसैगरी उधारो बिक्री र असुली व्यवस्थापन, फण्ड म्यानेजमेन्ट, बैक कर्जा भुक्तानी तथा नियमकीय व्यवस्था परिपालनको लागि आवश्यक पर्ने परामर्श नियमित रूपमा दिने योजना बनाईएको छ । नेक्सजेन र बैंकबिच सम्झौता भएर निश्चित रकम सेवाशुल्क तोकि मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रहि स्थलगत अवलोकन गरि आवश्यक परामर्श दिने कार्यक्रम रहेको छ ।