रिलायन्स फाइनान्सले दिगो ग्रुपको विद्युतीय गाडी फाइनान्स गर्ने

  २०८१ माघ १३ गते १२:४३     विकासन्युज

काठमाडौं । दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेड नेपालमा विद्युतिय सवारीसाधन (ईभी) खरिदकर्ताहरूलाई वित्तीय सेवा प्रदान गर्न साझेदारी गरेका छन् ।  माघ १० गते आधिकारिक रूपमा सुरु भएको यो विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ ।

सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सले सवारीसाधनको लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ । यी ऋणहरू आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्तहरू र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ आउने जनाइएकाे छ ।

यस साझेदारीअन्तर्गत ११-सीटर, १४-सीटर, १६-सीटर, र १९-सीटर विद्युतिय सवारी साधनहरूसहित दिगोका सबै व्यावसायिक गाडीहरूको लागि वित्तीय विकल्पहरू उपलब्ध हुनेछन् ।

दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत, सौरभ श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको छ ।

यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहकहरु तथा व्यवसायीहरूलाई गाडी खरिद गर्न थप सहज बनाउने छ ।

कम्पनीका अनुसार रिलायन्स फाइनान्सको उपस्थितिसँगै ग्राहकहरूले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोको गाडीहरू फाइनान्सको लागि आवेदन दिन सक्छन् ।