अमेरिकामा दुई अटोमेकरमाथि भेदभाव र दुर्व्यवहारको आरोपमा मुद्दा दायर

  २०८१ माघ ७ गते १५:१३     विकासन्युज

काठमाडौं । अमेरिकी समान रोजगार अवसर आयोग (ईईओसी) ले शुक्रबार दुई ठूला अटोमेकरविरुद्ध मुद्दा दायर गरेको छ ।

जनरल मोटर्स (जीएम) र युनाइटेड अटो वर्क्सर (यूएडब्लू) माथि उमेरका आधारमा भेदभाव गरेको र स्टेलान्टिसको क्राइस्लर एकाइले महिला कर्मचारीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

जीएम र यूएडब्लूमाथि अक्टोबर २०१९ देखि सामूहिक बार्गेनिङ सम्झौताअन्तर्गत बिरामी र दुर्घटना लाभको नीति कायम राखेको आरोप छ, जसले सामाजिक सुरक्षा लाभ पाउने वृद्ध कर्मचारीहरूलाई कम भुक्तानी गर्छ ।

ईईओसीले भनेको छ कि राष्ट्रव्यापी रूपमा कम्तीमा ५० जीएम सुविधाहरूलाई समेट्ने यो नीतिले ६६ वर्ष र सोभन्दा माथिका कर्मचारीहरूमाथि भेदभाव गर्छ, जुन संघीय रोजगारमा उमेर भेदभाव ऐनको उल्लंघन हो ।

यसैबीच, स्टेलान्टिसको एफसीए यूएस एकाइमाथि डिसेम्बर २०२० देखि डेट्रोइटको एक एसेम्बली प्लान्टमा महिला कर्मचारीहरूमाथि यौन दुर्व्यवहार गरेको र नेतृत्व भूमिकामा रहेका केही पुरुष सुपरभाइजर र सहकर्मीहरूबारे उनीहरूको गुनासो नियमित रूपमा बेवास्ता गरेको आरोप लागेको छ ।

ईईओसीले कथित दुर्व्यवहारमा अनुपयुक्त छुवाइ र यौनजन्य टिप्पणीहरू समावेश भएको र एफसीएले पुरुष दुर्व्यवहारकर्ताहरूलाई अनुशासनमा नल्याएकोले नागरिक अधिकार ऐन १९६४ को शीर्षक भीआईआई उल्लंघन भएको जनाएको छ ।

जीएमले आफ्नो उजुरी समीक्षा गर्न बाँकी रहेको भन्दै तत्काल कुनै टिप्पणी गरेको छैन ।

जीएम र यूएडब्लूविरुद्धको मुद्दाले ६६ वर्ष र माथिका कामदारहरूले पाउनुपर्ने तर नपाएका लाभहरू फिर्ता दिलाउन खोजेको छ भने एफसीएविरुद्धको मुद्दाले डेट्रोइट प्लान्टका महिला कर्मचारीहरूका लागि क्षतिपूर्ति र दण्डात्मक क्षतिपूर्ति खोजेको छ ।
दुवै मुद्दाले थप गलत आचरणविरुद्ध स्थायी निषेधाज्ञा पनि खोजेका छन् ।

जीएम र यूएडब्लूविरुद्ध न्यू अल्बानी, इन्डियानाको संघीय अदालतमा मुद्दा दायर गरिएको छ भने एफसीएविरुद्ध डेट्रोइट संघीय अदालतमा मुद्दा दायर गरिएको छ ।

यी मुद्दाहरू बाइडेन प्रशासनको अन्तिम दिनहरूमा विभिन्न संघीय एजेन्सीहरूले गरेका कानुनी कारबाहीको श्रृंखलाको हिस्सा हुन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस प्रवेश गरेपछि ईईओसीको कार्यान्वयन प्राथमिकताहरू कसरी परिवर्तन हुन्छन् भन्ने कुरा अस्पष्ट छ ।