बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
२०८१ माघ ६ गते १३:३८ विकासन्युज
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार ६० अर्ब बराबर तरलता खिच्न लागेको हो ।
लामो समयदेखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तिमा दुई पटक पैसा झिक्दै आएको छ । सोही क्रममा आज पनि ६० अर्ब रुपैयाँ राष्ट्र बैंकले झिक्न लागेको हो ।
केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।
निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ-ब्याज २७ माघमा भुक्तानी हुनेछ ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.