सुनको मूल्य नेपालीको क्रयशक्तिभन्दा बाहिर, प्रतितोला २ लाख पुग्ने व्यावसायिक विश्लेषण

  २०८१ भदौ १९ गते १२:१३     विकासन्युज

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दैछ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँ रहेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको छ ।

पछिल्लो एक वर्षको अवधिमा सुनको मूल्यमा ठूलो परिवर्तन देखिएको छ । २०८० भाद्र १९ गते अर्थात् आजैका दिन सुनको मूल्य ९६ हजार ६६२ रुपैयाँ थियो । यो अवधिमा सुनको मूल्य ५५ हजार ३७५ अर्थात् ५७.३० प्रतिशतले बढेको छ ।

सुनको मूल्य दिनप्रतिदिन बढ्दा व्यवसायीलाई समस्या भएको र खरिदकर्ता पनि सुन खरिद गर्नतर्फ आकर्षित भइरहेका छैनन् । यो मूल्य अझै बढ्ने व्यवसायीहरुको धारणा छ ।

दिनप्रतिदिन सुनको मूल्य बढ्दा व्यवसायीले खरिदकर्ता पाउन सकेका छैनन् भने सुन भएकाहरु प्नि बिक्री गरिरहेका छन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियशरत्न शाक्य अहिले व्यवसायी ठूलो समस्यामा रहेको बताउँछन् ।

उनी सुन खरिद गर्ने सक्ने नेपालीको क्रयशक्तिभन्दा बाहिर गएको उनको धारणा छ । ‘सुनको मूल्य अचाक्ली बढेको हुनाले यो नेपालीको क्रयशक्तिभन्दा बाहिर गइरहेको छ । यसको मूख्य कारण राज्यले लगाएको २० प्रतिशतको भन्सार दर हो, यसले पनि प्रतितोला २५ हजार मूल्यवृद्धि गरेको छ, अन्तर्राष्ट्रिय बजारको तुलना गर्दा अहिले १ सुनको मूल्य प्रतितोला १ लाख ३० हजार हुनुपर्ने हो,’ उनी भन्छन्, तर नेपालमा बढी नै मूल्यपर्छ ।’

उनी भारतले १५ प्रतिशतबाट ६ प्रतिशतमा कर घटाउँदा मूल्य घटेको बताउँछन् । तिजमा जुन किसिमको कारोबार हुनुपर्ने हो त्यो नभएको उनको भनाइ छ । ‘अहिलेको खरिदबिक्री एक तिहाइ पनि भएको छैन, अहिले सुन खरिद गर्नेभन्दा बिक्री गर्नेको भीड छ, अहिलेको मूल्य किर्तिमानी मूल्य हो, आगामी ६ महिनाभित्र प्रतितोला २ लाख रुपैयाँ पुग्न सक्ने हाम्रो अनुमान छ,’ उनले भने ।

अहिले तिजको समय भएपनि सुनको बजारमा कुनै चहलपहल छैन । अब मार्केट बढाउनका लागि सरकारले भन्सार दर घटाउनु पर्ने शाक्यको भनाइ छ । सुनको मूल्य २ लाख पुगेको दिन धेरै पसल बन्द हुने, धेरैले रोजगारी गुमाउने र सुनको बजारमा मन्दी नै सिर्जना हुन सक्ने धारणा उनको छ ।

नेपालमा मात्रै होइन सुनको मूल्य विश्व बजारमा नै बढिरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब विश्व बजारमा सुनको मूल्य बढ्छ, नेपालमा पनि बढ्ने गरेको छ भने जब विश्व बजारमा सुनको मूल्य घट्छ नेपालमा पनि मूल्य घट्ने अभ्यास छ ।

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्य पनि बढिरहेको जानकारहरू बताउँछन् । जानकारहरुका अनुसार अमेरिकी केन्द्रिय बैंकको ब्याजदर, अमेरिकी डलरको प्रभाव, विभिन्न ठूला अर्थतन्त्र भएका देशले सुनमा बढी महत्व दिनु, विभिन्न देशका केन्द्रिय बैंकले सुन थुपार्नु तथा आर्थिक गतिविधिमा सुस्सता आउँदा सुनको मूल्य बढ्छ । सोही कारण पनि अहिले सुनको मूल्य बढिरहेको हो ।