प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे संसदमा जानकारी गराउन माग

  २०८१ जेठ ३२ गते १२:३६     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् । सदनको नेता प्रधानमन्त्री भएपनि उहाँले सदनलाई बिर्सेर सदनबाट भाग्न खाजेको आरोप लगाए । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदा पनि सदनले भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको जानकारी दिए ।

प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेको भन्दै प्रधानमन्त्री पाँच दिनसम्म सदन आउन नसकेको बताए । प्रधानमन्त्रीले सदनको न्युनतम गरिमा नराखेको भन्दै सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए । राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश भ्रमण गएको विषयमा सदनलाई जानकारी गराउन माग गरे ।

‘नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री भारतको लोकसभाको निर्वाचनपछि निर्वाचित प्रधानमन्त्रीलाई शुभकामना दिन जानु राम्रो हो । प्रधानमन्त्री एक हप्ता पहिला भारत भ्रमणमा जानु भएको छ । फर्कर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल धैर्यता पूर्वक रचनात्मक प्रतिपक्षका रुपमा कुरेर बसेका थियौं’, उनले भने ।

प्रमुख सचेतक लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सदनका बोलेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरे । गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उल्लेख गरे ।सदनमा प्रधानमन्त्री नपाएर प्रतिपक्षले माग गरेका विषयमा जानकारी दिन तयारी गरेर एकैचोटी जवाफ दिन खोज्नुभएको हो ? भन्दै प्रश्न गरे । प्रधानमन्त्री सदनमा नआएर जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? भन्ने अनुमान गर्नु पर्ने अवस्था आएको बताए ।

‘केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो। मैले के विश्वास गरौँ हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि ? अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? मैले के अनुमान गर्ने ?’, उनले भने ।

सचेतक लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङको माग गरे ।