जलेश्वर भन्सारबाट ९ महिनामा २ अर्ब ३५ करोड राजस्व संकलन

  २०८१ वैशाख १७ गते १८:५७     विकासन्युज


जनकपुर । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले ९ महिनामा २ अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजस्व सकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म २ अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० रुपैयाँ राजस्व संकलन गरेको बताए ।

त्यस अवधिमा २ अर्ब ८० करोड ८४ लाख ७७ हजार ८ सय ९ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । आयात तथा निर्यातमा भएको कमी र विश्वव्यापी आर्थिक आर्थिकमन्दीका कारण राजश्व निर्धारित लक्ष्यभन्दा कम राजस्व संकलन भएको गुप्ताको भनाइ छ । त्यसैगरी भारत सरकारले प्याजलगायत अन्य सामानको आयातमा लगाएको प्रतिबन्धका कारण पनि राजस्व संकलनमा समस्या आएको समेत उनले बताए ।

संकलित राजस्वमध्ये पेट्रोलियम पदार्थवाट ५३ दशमलव ९१ प्रतिशत अर्थात १ अर्ब ३५ करोड, कोइलाबाट आठ दशमलव तीन, आलुबाट चार दशमलव तीन, चामलबाट तीन दशमलव दुई, मिठा (गुड) बाट दुई दशमलव तीन, सेरामिक्स तथा टायलवाट एक दशमलव १४, स्याउवाट शून्य दशमलव ६१, मसालाबाट एक दशमलव ७५, प्याजबाट शून्य दशमलव ४९, धानबाट शून्य दहमलव ५७ तथा अन्य सामानवाट एक दशमलव १४ प्रतिशत राजस्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी विभिन्न मितिमा पक्राउ गरिएका सामानहरूको लिलामीबाट २ करोड ६६ लाख ८८ हजार राजस्व संकल भएको पनि तथ्यांकमा उल्लेख छ ।

भन्सार विभागले चालु आवमा ३ अर्ब ७३ करोड २३ लाख ६२ हजार ६ सय ८७ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको र सो लक्ष्यबमोजिम राजस्व संकलन गर्ने विश्वास रहेको सूचना अधिकारी गुप्ताको भनाइ छ । सो कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालयबाट पनि लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.