कैलाश हेलिकोप्टरको आम्दानी ७० करोडमाथि, अर्को वर्ष हेलिकोप्टर थप्ने

  २०८१ जेठ २ गते १३:१५     विकासन्युज

फाइल फोटो

काठमाडौं। कैलाश हेलिकोप्टर सर्भिस लिमिटेडको आम्दानी बढेर ७० करोडभन्दा माथि पुगेको छ ।

कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ बराबर आम्दानी गरेको हो । २०२२ मा कम्पनीले ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा मात्र ३१ करोड रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएकाे छ । त्यस्तै, २०२१ मा ३२ करोड १० लाख रुपैयाँ र २०२० मा ३० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । भविष्यमा प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) मार्फत इक्विटी बढाउने योजना कम्पनी छ ।

सन् २०१७ मा प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भएको कैलाश हेलिकोप्टर २०२३ जुलाई ९ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो ।

यसले चार्टर उडान, उद्धार उडान, स्लिङ अपरेसन, सगरमाथा र अन्नपूर्ण आधार शिविरसम्म साहसिक उडान लगायत सञ्चालन गर्दै आएको छ ।

कम्पनीसँग हाल एयर हेलिकोप्टरमा निर्मित तीन थान हेलिकोप्टर सञ्चालनमा छन् । आगामी २०२५ भित्र थप एक थान यस्तै हेलिकोप्टर ल्याउने योजना कम्पनीले बनाएको छ ।

कैलाश हेलिकोप्टरमा सातजना लगानीकर्ता छन् । हाल कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचन हुन् भने प्रबन्ध निर्देशकमा प्रतापजंग पाण्डे छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.