पौने १ अर्बको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

  २०८० फागुन १८ गते १२:२६     विकासन्युज

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दुईटै कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले नेपाल पुनर्बीमाको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार नेपाल पुनर्बीमाको सेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ भने सीआईटीको प्रतिकित्ता ७८० रुपैयाँ तोकिएको छ ।

सो मूल्यका आधारमा कम्पनीले पुनर्बीमाको ५८ करोड ५ लाख ६४ हजार ८८० रुपैयाँ र सीआईटीको १८ करोड ६४ लाख ४८ हजार ८६० रुपैयाँ गरी कूल ७६ करोड ७० लाख १३ हजार ७४० रुपैयाँ उठाउने छ ।

कम्पनीको उक्त सेयरमा इच्छुक लगानीकर्ताहरूले आज फागुन १८ गतेदेखि फागुन २२ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आवेदन दिँदा पुनर्बीमाको सम्पूर्ण कित्ता र सीआईटीको न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीलाई विविधिकरण र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने योजनासहित सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर बिक्री गरेर उठेको रकम अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको कम्पनीको भनाइ छ ।

नेपाल बीमा प्राधिकरणले तोकबमोजिम कम्पनीले पुँजी पुर्याइसकेको छ । त्यसैले उक्त सेयर बिक्री गरेर प्राप्त रकमबाट सेयरधनीहरूलाई लाभांश बाँड्न पनि सक्नेछ ।

कम्पनीले घरजग्गामा लगानी गर्न चाहेको पनि देखिएको छ । कम्पनीले गत कात्तिक २० गते विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिदका लागि सूचना जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.