वर्षेनी घट्दै बैंकको लाभांश, बैंकर भन्छन् : अब अधिकांशले प्रतिफल नदिन सक्छन्

<p>काठमाडौं । कुनै समय वाणिज्य बैंकमा लगानीकर्ताहरूको निकै आकर्षण थियो । बैंकको सेयर खरिद गर्न लगानीकर्ताहरू तछाडमछाड नै गर्थे । किनभने बैंकहरूको प्रतिफल उच्च थियो । कुनै बैंकको लाभांश १४० प्रतिशतसम्म पनि थियो । तर, समय बदलिएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूको सेयरको भ्यालू अंकित मूल्यमा झरेको छ । विगतमा लाभांश उच्च हुँदा बैंकको [&hellip;]</p>

काठमाडौं । कुनै समय वाणिज्य बैंकमा लगानीकर्ताहरूको निकै आकर्षण थियो । बैंकको सेयर खरिद गर्न लगानीकर्ताहरू तछाडमछाड नै गर्थे । किनभने बैंकहरूको प्रतिफल उच्च थियो । कुनै बैंकको लाभांश १४० प्रतिशतसम्म पनि थियो । तर, समय बदलिएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूको सेयरको भ्यालू अंकित मूल्यमा झरेको छ ।

विगतमा लाभांश उच्च हुँदा बैंकको सेयर मूल्य पनि उच्च थियो । तर, पछिल्लो समय लाभांशदर घटेपछि बैंकको सेयर मूल्य पनि नगण्य छ । अघिल्लो वर्षहरूको तुलनामा पछिल्लो समय वाणिज्य बैंकहरूको लाभांश दर घट्दै गएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय बाणिज्य बैंकले लाभांश वितरण गरेका छन् ।

प्रभु बैंक, नेपाल बैंक, कुमारी बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंक, प्राइम बैंक, एनएमबि बैंक र हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्न सकेनन् ।

आर्थिक वर्ष २०७८/७९ मा साविक नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत र साविक मेगा बैंकले ७.७९ प्रतिशत लाभांश बाँडेका थिए । यस्तै, साविक प्रभु बैंकले ८ प्रतिशत र साविक सेञ्चुरी बैंकले ५ प्रतिशत, साविक कुमारी बैंकले १२.५ प्रतिशत र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले ११ प्रतिशत, साविक हिमालयन बैंकले १९.११ प्रतिशत र साविक सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल बैंकले १२ प्रतिशत, कृषि विकास बैंकले १३ प्रतिशत, प्राइम कमसिर्यल बैंकले ४ प्रतिशत बोनस र ४.९५ प्रतिशत नगद गरी ८.९५ प्रतिशत र एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उल्लेखित सबै बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्न नसक्दा सेयरधनीहरू निराश बनेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक र लक्ष्मी सनराइज बैंकले लाभांश वितरण नगरी सेयरधनीहरूलाई निराश बनाए ।

विगतमा बैंकहरूको लाभांश दरसँगै लाभांश नदिने बैंकको संख्या पनि बढेको छ । बैंकहरूले वितरण गरेको लाभांश दरलाई तुलना गर्दा गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट औसत १२.६६ प्रतिशत लाभांश वितरण गरेका छन् । जबकी अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा औसत १५ प्रतिशत लाभांश वितरण गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट एनआईसी एशिया बैंकले ३०.५ प्रतिशत, एभरेष्ट बैंकले २०.५३ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, नेपाल एसबिआई बैंकले १०.५५ प्रतिशत लाभांश वितरण गरेका हुन् ।

यस्तै, नबिल बैंकले ११ प्रतिशत, ग्लोबल आइएमई बैंकले ९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत, सिटिजन्स बैंकले ५.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश वितरण गरे ।

पूर्व बैंकर अनलराज भट्टराई अर्थतन्त्रमा देखिएको संकुचनले बैंकको व्यवसायमा पनि असर गरेको र त्यसको प्रत्यक्ष प्रभाव लाभांशमा देखिएको बताउँछन् । बैंकिङ क्षेत्र बाहेकका अन्य क्षेत्र ठप्पजस्तै भएकाले त्यसको प्रत्यक्ष प्रभाव स्वतः बैंकिङ क्षेत्रमा परेको उनको भनाइ छ ।

‘कोरोना महामारीको बेला कर्जा प्रवाह ८ सय अर्ब पुग्यो, जीडीपीको आकारभन्दा बढी कर्जा प्रवाह भयो । तर, अर्थतन्त्र बढेन । कर्जा प्रवाह उच्च भएपछि राष्ट्र बैंकले कडाइ गर्यो,’ उनले भने, ‘जब ग्रोथ फेजमा कुनै एउटा ठाउँबाट रोकिन थाल्छ, विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि आयातमा कडाइ गर्न थाल्यो, विभिन्न वस्तुहरूको आयात रोकेपछि राजश्वमा कमी आयो ।’

उनका अनुसार आर्थिक क्रियाकलाप ठप्प हुँदा उत्पादन, उपभोग तथा माग पनि कम भयो, उपभोग कम हुँदा कर्जा माग भएन, बैंकको पैसा कुनै व्यापार व्यवसायमा लगानी गरेर आय आर्जन भएपछि कर्जा भुक्तानी गर्ने हो । तर, उपभोक्ताको माग कम भएपछि व्यवसाय घट्न थाल्यो । जसको प्रभाव बैंकिङ क्षेत्रमा देखिन थालेको उनको भनाइ छ । उनका अनुसार सहकारी र लघुवित्त हुँदै बैंकिङ क्षेत्रमा समस्या परेको छ ।

‘यो समय सधैं एकनाश रहँदैन, विस्तारै सहज अवस्था बनेर सुधार हुँदै जान्छ, अब रिकभरी हुँदैछ, अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक हुन थालेका छन्, मूल्य वृद्धि, ब्याजदर लगायत सबै घट्दो क्रममा छ,’ उनले भने, ‘अब विस्तारै माथि जान्छ, केही समय दबाब रहेपनि विस्तारै माथि बढ्दै जान्छ ।’

मर्जरका कारण बैंकहरूको लाभांश ध्वस्त नभएको उनी बताउँछन् । मर्जरपछि बैंकको आकार ठूलो भएपनि व्यवस्थापनमा समस्या रहेको उनको भनाइ छ । बैंक व्यवस्थापन गर्न बलियो आधार चाहिने उनले बताए ।

‘बैंक व्यवस्थापनको लागि जोखिम बहन क्षमता बढाउनु पर्छ, बैंकको आकार ठूलो छ भनेर लगानी बढाउन मात्रै भएन, पुँजीलाई विविधिकरण गर्नुपर्छ । तर, बैंकिङ क्षेत्रलाई लगानीमा संकुचन गरेकाले दायरा बढाउनपर्छ,’ उनले भने ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समते रहेका गोपाल खनाल नकारात्मक सन्देश बढी प्रवाह भएका कारण बैंकको व्यवासयमा धक्का लागेको बताउँछन् । साथै, मर्ज नभएका बैंकको लाभांश पनि घटेको उनको भनाइ छ । पछिल्लो समय बैंकिङ क्षेत्रविरूद्ध एकोहोरो आक्रमण भएकाले व्यवसाय खस्किएको उनले बताए ।

उनका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले पनि ठूलो असर गरेको छ । नेपालका व्यवसायीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेयर बजार र घरजग्गा व्यवसायमा निर्भर रहेकाले सो क्षेत्र घटेका कारण समस्या आएको उनको भनाइ छ ।

‘सेयर बजार र घरजग्गाको कारोबार खस्किएपछि बैंकको व्यवसाय पनि चलायमान हुन सकेन, ७० प्रतिशत लगानी बैंक र ३० प्रतिशत व्यवसायीहरू छन्, त्यसैले ७० प्रतिशत हिस्सेदार बैंक भएकाले समस्यामा परे, समग्र ब्यापार व्यवसाय कमजोर भएपछि बैंकको नाफा पनि कम भयो,’ उनले भने ।

उनका अनुसार अहिलेको स्थितिलाई हेर्दा अझै १/२ वर्ष बैंकहरूले लाभांश दिन सक्ने अवस्थामा छैनन् । बैंकको लगानीको क्षेत्र र व्यवसायमा राष्ट्र बैंकले कडाइ गरेका कारण केही वर्ष लाभांश दिन नसक्ने उनको भनाइ छ ।

‘स्प्रेड दर ४ प्रतिशतमा झारिएको छ, ब्याजदर घटाउन दबाब छ, राष्ट्र बैंकले कडाइ गरेका कारण बैंकहरूले चाहेर पनि व्यवसाय विस्तार गर्न सकिहेका छैनन्, लगानी गर्न सकिरहेका छैनन्, बैंकको आकार ठूलो भइसक्यो,’ उनले भने, ‘एउटै व्यवसायीको अण्डरमा बैंक चलिरहेका छन्, १ सय जना ब्यापारीको लगानीमा बैंक नियन्त्रणमा छन्, जसले गर्दा बैंक र व्यवसायी दुईटै अफ्ठ्यारोमा छन् ।’

यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना पनि अब बैंकहरूलाई लाभांश वितरणमा समस्या पर्ने बताउँछन् । उनले पछिल्लो समय बैंकिङ क्षेत्र समस्यामा रहेकोले आगामी दिनमा लाभांश दरमा थप संकुचन आउने उनको भनाइ छ ।

Share News