एनसेलको सेयर किन्न बीमा कम्पनी तम्सिए, ५०/५० करोड हाल्न सबै तयार

  २०८० मंसिर २७ गते २०:००     विकासन्युज

काठमाडौं । एनसेलको विदेशी साझेदार आजियाटाले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने निर्णय गर्याे । आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर नेपाली मुलका विदेशी नागरिक सतिशलाल आचार्यको ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बिक्री गरिसक्यो ।

सन् २०१६ मा तत्कालीन टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर १ अर्ब ३६ करोड ५० लाख रुपैयाँ अमेरिकी डलर अर्थात् १ खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेको थियो । तर, अहिले सोही सेयर ५ करोड अमेरिकी डलर अर्थात् साढे ६ अर्ब रुपैयाँमा बिक्री भएको छ ।

चलिरहेको व्यवसाय किनेको रकमभन्दा ९६ प्रतिशत कम रकममा खरिदबिक्री भएपछि त्यसको मूल्याङ्कनमा प्रश्न उठेको छ । एनसेलको व्यवसायिक मूल्य साढे ६ अर्ब रुपैयाँ ताेक्नु ज्यादै कम भएकाे विषयमा धेरैको ध्यान गएकाे छ ।

नेपालभित्रै सेवा दिइरहेका जीवन बीका कम्पनीहरूले साढे ६ अर्ब रुपैयाँ भन्दा बढी मूल्य तिरेर एनसेलको सेयर किन्ने विषयमा छलफल चलाएका छन् ।  जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच एनसेलको सेयर खरिद विषय चलिरहेको हो।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)शिवनाथ पाण्डेले सरकारले जीवन बीमा कम्पनीहरूलाई एनसेल खरिद गर्न अनुमति दिने हो बीमा कम्पनीहरू सेयर किन्न तयार रहेको बताए । बीमा कम्पनीहरूमा दीर्घकालिन प्रकृतिकाे काेषहरू हुन्छ । उक्त रकम बैंकको मुद्दती निक्षेपमा लगानी गरेर ब्याज खानुभन्दा एनसेलमा लगानी गर्नु धेरै फाइदाजनक हुने बीमकहरूको भनाइ छ ।

‘लगानी गर्नुहोस् स्वीकृति दिन्छौं सरकारले भन्छ र अहिलेको मूल्यमा एनसेलको सेयर दिने हो भने बीमा कम्पनी तयार छन् । १४ वटा जीवन बीमा कम्पनीले ५०/५० करोड रुपैयाँ मात्रै लगानी गर्ने हो भनेपनि ७ अर्ब हुन्छ,’ उनले भने, ‘लगानी विविधिकरण पनि हुन्छ, बैंकले दिने ब्याजभन्दा उच्च प्रतिफल पनि हुन्छ ।’

‘बीमा कम्पनीहरूलाई सरकारले प्रोत्साहन गर्ने हो भने एनसेल चलाउन सक्षम छौं, बीमा कम्पनीहरूसँग ठूलो फण्ड पनि छ तर, जोखिम लिने कि नलिने, उसले पनि दिने कि नदिने भनेर नियामकको भर पर्नुपर्छ,’ उनले भने, ‘पब्लिक कम्पनीले गरेको फाइदा अन्ततः सर्वसाधारणले पाउने हो, त्यसैले बीमा कम्पनी एनसेल खरिदका लागि उपयुक्त लगानीकर्ता हुन सक्छन् ।’

एनसेल जस्ताे कम्पनी व्यक्ति वा प्राइभेट कम्पनीले चलाउनुभन्दा पब्लिक कम्पनीले चलाउँदा उपयुक्त हुने बीमा कम्पनीका सीईओहरूको तर्क छ । बीमा कम्पनीलाई एनसेलको सेयर दिँदा लगानीमा पनि विविधिकरण हुने र जोखिम पनि घट्ने सीईओ पाण्डे बताउँछन् ।

एनसेलबाट गत ६ आर्थिक वर्षमा मात्र लगानीकर्ताले ८३ अर्ब ५० करोड रुपैयाँ लाभांश लिएका छन् । यति धेरै नाफामा रहेको र ७० अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति भएको एनसेल ५ करोड अमेरिकी डलरमा पाए आफूहरुले किन्न तयार भएको एक कम्पनीका सीईओले बताए ।

जीवन बीमा कोष लगायत दीर्घकालिन प्रकृतिको कोषमा रकम वृद्धि हुँदै जाँदा जीवन बीमा कम्पनीहरुले दीर्घकालिन प्रकृतिको लगानीको क्षेत्र खोजिरहेका छन् । पछिल्लो समय बीमा कम्पनीहरुले ठूला र ख्याती कमाएका कम्पनीहरुको सेयरमा लगानी विस्तार गरिरहेका छन् । एनसेल जस्तो उच्च नाफा हुने कम्पनीमा नेपालीको लगानी हुँदा लाभांश बाफत हरेक वर्ष विदेशीले करोडौं डलर (अर्बौ रुपैयाँ) नेपालमा नै रहने र त्यसले अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्ने जानकारहरु बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.