सन नेपाल लाइफको साधारण सभा सम्पन्न, हकप्रद र लाभांश प्रस्ताव पारित

  २०८१ जेठ ९ गते १६:३६     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बुधबार सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेकाे छ । बोनस सेयर कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २१० रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गरेको छ ।

बोनस सेयर जारी गरेपछि चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख कायम हुने र नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्तापुँजीका लागि नपुग पुँजी कायम गर्न उक्त पुँजीको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले बोनस सेयर वितरण र हकप्रद सेयर निष्कासनपश्चात अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणहरुसहितको एकीकृत वित्तिय विवरण छलफल गरी सभाले अनुमोदन गरेको छ ।

सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आएबमोजिम बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.