सडक र गल्लीमा ढुंगा बिछ्याएपछि चिटिक्क देखियो लोमान्थाङ

  २०८० मंसिर २३ गते १४:२२     विकासन्युज

म्याग्दी । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक एवं पर्यटकीय महत्त्वको लोमान्थाङको सडक र गल्लीमा ढुंगा छापिएपछि चिटिक्क परेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङको पर्यटकीय सहर तथा बस्ती पुनःउत्थान कार्यक्रमअन्तर्गत लोमान्थाङको पर्खालभित्रको सडक, पैदलमार्ग र गल्लीमा ढुंगा बिछ्याइएको हो ।

संघीय सरकारले गत वर्षदेखि सुरु गरेको ढुंगा छपान कार्य प्रभावकारी बनेपछि चालु आर्थिक वर्षमा प्रदेश सरकार र गाउँपालिकाले ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङलाई थप आकर्षित बनाउन उक्त योजनालाई पूर्णता दिएको लोमान्थाङ गाउँपालिका–५ का वडाध्यक्ष ढुढुके विष्टले बताए ।

‘लोमान्थाङका बस्तीलाई धुलो, हिलो मुक्त र सफा बनाउन पर्खालभित्रको सडक, गल्ली र पैदलमार्गमा ढुंगा छपाउने कार्यलाई निरन्तरता दिएका छौँ,’ उनले भने, ‘पर्खाल बाहिरको सडकलाई व्यवस्थित गर्न प्रदेश सरकारमार्फत ढलान हुँदैछ ।’ ढुंगा छपान गरेपछि मौलिकताको संरक्षणसँगै धुलो उड्ने र हिलो हुने समस्या हटेर सफा सुग्घर बनेको छ ।

यसअघि बस्तीभित्र छपाएको ढुंगा उप्किएका थिए । कतिपय ठाउँमा ढुंगा छपाइएको थिएन । आयोजनामार्फत आव २०७९÷८० मा लोमान्थाङ बस्तीभित्र ढुंगा छपानका लागि करबाहेक १ करोड २७ लाख ६ हजार ५ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएको विष्टले जानकारी दिए ।

उक्त ठेक्कामार्फत ४ हजार ४४ दशमलव २५ वर्गमिटर क्षेत्रफलमा स्लेट ढुंगा छपान भएको आयोजनाका इन्जिनियर योगेन्द्र वस्ताकोटीले बताए । उनका अनुसार चालु आवमा ढुंगा छपानका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन हुनेगरी लोमान्थाङ बस्तीभित्रको सडक ढलान गर्न चालु आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिए ।

लोमान्थाङ स्वागत गेटबाट लोमनथाङ वाल वरिपरि ढलान बाटो निर्माणका लागि दुई शीर्षकमा ५ करोड र अर्को ऐतिहासिक गाउँ वरपर पक्की सडक शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ ।

केही दिनअघि लोमान्थाङ पुगेर फर्किएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको लोमान्थाङ बस्तीलाई व्यवस्थित बनाउन मन्त्रालयले प्राथमिकता दिएको बताए ।

चीनको स्वशासित क्षेत्र तिब्वतसँग सिमाना जोडिएको छ । लोमान्थाङ पालिकाको केन्द्रसमेत रहेकाले यहाँका सडक र गल्लीमा नाली निर्माण गरेर ढल व्यवस्थापन गरिएको जनाइएको छ । चोक र सडक छेउमा १ सय ५० सडकबत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ ।

माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब दुई सय माटोले बनेका घर छन् ।

३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ । यहाँका घर, दरबार, गुम्बा सबै माटोले बनेका छन् । प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरता अवलोकनका लागि लोमान्थाङमा पर्यटक आउँछन् । ऐतिहासिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.