ऋणको माग बढोस् भनेर नीतिगत दर घटायौं : गभर्नर अधिकारी

  २०८० मंसिर २२ गते १५:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणको माग बढाउनको लागि नीतिगत दर घटाएको बताएका छन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि नेपाल राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले अहिले कर्जाको माग बढाउनु पर्ने भएकोले नीतिगत दरहरू घटाएको बताएका हुन् ।

‘बजारमा अहिले कर्जाको माग छैन, कर्जाको माग बढ्नका लागि नीतिगत दर घटायौं,यो तत्कालका लागि मात्रै हो, पछि बजारले एउटा लाइन समातेपछि सधैं यस्तै नीति रहन्न,’ उनले भने ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले २५ लाखसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैंकहरुले बोक्नु पर्ने स्पष्ट पारेका छन् ।

त्यस्तै, आन्तरिक रेमिट्यान्स कारोबार रोक लगाउँदा विदेशी एजेन्टहरूले समस्या भएको गुनासो गरेपछि पुनः सुरु गर्नु परेको धारणा राखे । उनले अब आन्तरिक रेमिट्यान्सको कारोबारको सीमा न्यूनतम रहने पनि बताए ।

‘अब आन्तरिक रेमिट्यान्सको कारोबारको सीमा कम हुन्छ, अधिकतम् १५ हजारको सीमा हुन्छ,यस विषयमा अध्ययन भइरहेको छ,’ उनले भने ।

त्यस्तै, गभर्नर अधिकारीले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने समेत बताएका छन् । ‘ऋण लिएपछि तिर्नुपर्छ तर समय दिएका छौं, कर्जाको सदुपयोग गरेकाहरुलाई सहजीकरण गर्ने हो, ब्याज करिडोर मेन्टेन गर्नका लागि हामी सजग छौं,’ गभर्नर अधिकारीले भने ।

अहिलेको समस्या सिर्जित नभएको बताउँदै उनले अहिले सिआरआर चलाउने अवस्था नरहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.