हुण्डी घटाउन भन्दै बन्द गरिएको आन्तरिक रेमिट्यान्स फेरि सुरु, हजारौंले गुमाएका थिए रोजगारी

  २०८० मंसिर २२ गते १२:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सलाई पुनः सुरु गर्ने बताएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा पुनरावलोकन गर्ने बताएको हो ।

‘ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ,’ राष्ट्र बैंकको समीक्षामा भनिएको छ ।’

राष्ट्र बैंकले अब केही सीमा ताकेर आन्तरिक रेमिट्यान्स खुलाउने भएको हो । गत वर्षको माघमा राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ जारी गरेर रेमिट्यान्स कम्पनीहरूलाई नेपालभित्रै एक ठाउँबाट अर्को ठाउँमा रेमिट्यान्स कारोबार गर्न रोक लगाएको थियो ।

त्यसअघि २०७८ फागुनमा राष्ट्र बैंकले इजाजत प्राप्त बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सव–रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कोरोबार, प्रति दिन अधिकतम २५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको थियो । त्यसअघि भने नेपालभित्रको रेमिट्यान्स कारोबारको सीमा एक लाख रुपैयाँसम्म थियो ।

यस विषयमा विकासन्युजले पनि निरन्तर समाचार सम्प्रेषण गरेर आन्तरिक रेमिट्यान्स बन्द गर्न नुहने विषय उठान गरेको थियो । राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स बन्द गर्दा हजारौंले रोजगारी गुमाएको विषय मा विकासन्युजले समाचार सम्प्रेषण गरेको थियो ।

राष्ट्र बैंकले कालोबजारीलाई ठेगान लगाउन आन्तरिक रेमिट्यान्स बन्द गरिएको तर्क गर्दै आर्एको थियो । विदेशबाट हुन्डीमार्फत् कालो धन नेपाल भित्रिने क्रम बढेको र आन्तरिक रेमिट्यान्सकारूपमा ‘सेतो’ बनाउने काम भइरहेकोले यसलाई रोकेको राष्ट्र बैंकको भनाइ थियो । तर, बन्द गरेको एक वर्ष नबित्दै राष्ट्र बैंकले पुनः सीमा तोकेर सुरु गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री : आन्तरिक रेमिट्यान्स बन्द हुँदा हजारौं एजेन्ट बेरोजगार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.