नाडामा सहमतिको ‘च्याप्टर क्लोज’, कुनलाई कसको साथ ?

  २०८० मंसिर २१ गते १६:२२     राजिव न्यौपाने

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन नजिकिएसँगै अटो व्यवसायीहरूको दौडधुप बढेको छ । यसअघि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने विषयमा व्यापक छलफल भएपनि सहमति हुन नसक्दा अन्ततः उम्मेदवारहरू चुनावी दौडधूपमा लागेका हुन् ।

नाडाको अध्यक्ष पदका सर्वसम्मतको प्रयास भएपनि उम्मेदवारहरूबीच कुरा नमिल्दा अन्ततः चुनाव हुने भएको हो । उनीहरू अहिले सदस्यहरूसमक्ष भोट मागिरहेका छन् ।

नाडाको अध्यक्ष बन्नका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा, सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सका सञ्चालक करण चौधरीले र वर्तमान कार्यसमिति सदस्य प्रकाश कपुरीबिच प्रतिस्पर्धामा हुने देखिएको छ ।

यसअघि सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले पनि आफू अध्यक्षको दाबेदार भनेर प्रचार गर्दै आएका थिए । तर, चुनाव हुने संकेत देखिएपछि उम्मेदवार बन्नबाट पछि हटेका हुन् ।

अब श्रेष्ठले चौधरीलाई सघाउने चर्चा पनि बजारमा छ । चौधरीलाई अध्यक्षको बलियो उम्मेदवार बनाएर अगाडि बढ्ने योजना उनीहरूको छ ।

सीजी होल्डिङ्सका सञ्चालक करण चौधरी आफ्नो जित निश्चित भएर नै अगाडि बढेको बताउँछन् । ‘यसअघिको चुनावमा म पराजित भएको थिएँ, तर यस पटक जित्नका लागि आएको छु, जित सुनिश्चित भएर नै मैदान आएको हुँ,’ उनले भने ।

चौधरी आफूले सर्वसम्मतका लागि पहल गरेपनि अन्य उम्मेदवारले चासो नदेखाएको उनको भनाइ छ । ‘मैले यसअघि पनि चुनाव नगरौं नै भनेको हो । तर, चुनाव भयो, यसपटक पनि चुनाव नगरेर मिलेर जाने छलफल भइरहेको थियो, तर त्यसले सार्थकता पाएन, अब उम्मेदवारहरू चुनावको तयारी गरिरहनु भएको छ,’ उनले भने ।

आफूले उम्मेदवारी घोषणा गरिसकेकोले अब ब्याक नहुने उनको अडान छ ।

यस्तै, प्रबन्ध निर्देशक आकाश गोल्छा पनि निर्वाचन हुने संकेतले निर्वाचन तयारी जुट्न थालेका छन् । उनी पनि सर्वसम्मत भन्दै चुनावी गर्दा नै उपयुक्त हुने मनसायमा देखिन्छन् ।

गोल्छाले पनि आफू अध्यक्ष पदको आकांक्षी भएकाले अहिलेको अवस्थामा पछाडि हट्न नसक्ने बताउँछन् । निर्वाचनभए पनि सबैको साथ सहयोगले आफू अध्यक्षमा निर्वाचित हुने विषयमा विश्वस्त रहेको बताउँछन् ।

को कसको टिममा ?

एक महिनापछि अर्थात् पुसको २० र २१ गते हुने नाडा चुनावमा अध्यक्षसँगै नयाँ कार्यसमितिको चयन हुँदैछ । अध्यक्ष पदका लागि उम्मेदवारहरूको चर्चा हुँदा कार्यसमितिमा को को अटाउने भन्ने विषय पनि चासोका साथ हेरिएको छ ।

अहिले अध्यक्षको टुङ्गो नलागेको कारण अन्य पदाधिकारी तथा सदस्यहरूको विषयले प्राथमिकता पाउन सकेको छैन । यद्यपि, चुनाव हुने चर्चाले सबै उम्मेदवारहरूले आ–आफ्नो निकटको व्यवसायीलाई साथमा लिन थालेका छन् ।

नाडाको निर्वाचनमा पहिला अध्यक्ष र सदस्यका लागि निर्वाचन हुने र निर्वाचन भएपश्चात् मात्र कार्यसमितिको छनोट हुने व्यवस्था छ । अब बन्ने कार्यसमिति १७ जनाको हुनेछ ।

अध्यक्षका उम्मेदवार चौधरीको टीममा लगभग पदाधिकारीहरुको टुङ्गो लागिसकेको छ । चौधरीलाई विभिन्न कम्पनीका अटो व्यवसायीहरूले साथ दिएका छन् । उनको टिममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, एमएडब्ल्यूका प्रबन्ध निर्देशक मिलनबाबु मल्ल, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुपकुमार बराल, आइएमई मोटर्सका निर्देशक निशान ढकाल, जेके ओटीआर टायरका सञ्चालक बिक्रमले साथ दिएका छन् । चौधरीको टिमबाट उनीहरूले नै पदाधिकारीका लागि चुनाव लड्ने बताइएको छ ।

यस्तै, उनको प्यानलबाट निल मणि पाठक, पंकज अग्रवाल, अभिक ज्योति, कपिल सिवाकोटी, निशान ढकाल, पंकज अग्रवाल, दिपेन्द्र मिश्र, मेगराज पौडेल तथा नवराज भुषालले सदस्यमा लड्ने बताइएको छ ।

यस्तै, गोल्छाको प्यानलबाट साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन ताम्राकार, प्रदीपमान शाक्य लगायत व्यवसायीले साथ दिएका छन् ।

गोल्छा आफ्नो टमि अझै फइनल भइनसकेको बताउँछन् । ‘अहिले हामीलाई धेरैले साथ दिन्छु भन्नु भएको छ । तर, अन्तिमसम्म को–को आउन चाहनुहुन्छ, त्यसको टुङ्गो भएको छैन, पदाधिकारीको टुङ्गो छिट्टै हुन्छ,’ उनले भने ।

हालसम्म अध्यक्षका उम्मेदवार प्रकाश कपुरीको टीमको भने टुङ्गो लाग्न सकेको छैन । नाडा स्रोतका अनुसार अन्तिमसम्म गोल्छा र चौधरीबीच नै प्रतिस्पर्धा हुने र कपुरीले एउटा उम्मेदवारलाई समर्थन गर्न सक्ने वातावरण बन्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.