अन्नपूर्ण केबुलकारको आम्दानी ८ करोड, वित्तीय जोखिम कायमै

  २०८० मंसिर २० गते १८:२८     विकासन्युज

काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्य पोखरास्थित अन्नपूर्ण केबुलकार कम्पनी लिमिटेडले ८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२३ मा उक्त आम्दानी गरेको हाे ।

सुरुवातमा व्यावसायिक सञ्चालन थालेको अन्नपूर्ण केबुलकारले यस अवधिमा १ लाख २८ हजार ३ सय ९२ यात्रु बोकेको छ । तर, याे संख्या यसको कुल क्षमताको ९ प्रतिशतमात्र हो । तीमध्ये ४१ हजार ४ सय ४६ जना विदेशी पर्यटकले अन्नपूर्ण केबुलकारबाट यात्रा गरेका थिए ।

अन्नपूर्ण केबुलकारले १ अर्ब ५ करोड ६२ लाख रुपैयाँबराबर दीर्घकालीन ऋणको रेटिङ गराएको छ । जसलाई केयर रेटिङ कम्पनी इक्रा नेपालले ‘केयर–एनपी बी प्लस’ रेटिङ दिएको छ । यो भनेको ऋणमा उच्च जोखिम हो ।

त्यसैगरी २ करोड रुपैयाँबराबर अल्पकालीन ऋणका लागि इक्राले उसलाई ‘केयर–एनपी ए४’ रेटिङ दिएको छ ।

इक्राका अनुसार भौगोलिक अवस्था, छोटो सञ्चालन अवधि, मौसमी आम्दानी र ब्याजदरको उतारचढाका कारण अन्नपूर्ण केबुलकारको वित्तीय जोखिम बढिरहेको छ ।

अन्नपूर्ण केबुलकारमा पाँच सदस्यीय सञ्चालक समिति छ । यसको अध्यक्ष कालु गुरुङ हुन् । उनी केबुलकारका प्रमुख लगानीकर्ता पनि हुन् । गुरुङसँग २५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । उनी रोडशो रियल इस्टेट प्रालि तथा रोडशो इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष पनि हुन् ।

अन्नपूर्ण केबुलकार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ दशमलव ४ किलोमिटर दुरीमा अवस्थि छ । पोखरा नेपालको दोस्रो ठूलो पर्यटन गन्तव्य हो । यही कारण कम्पनीले बिस्तारै आम्दानी गर्दै जाने इक्राले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.